बझाङ, कात्तिक २ :

गत हप्तादेखि बझाङको खप्तडछान्ना गाउँपालिका सञ्चार सम्पर्कविहीन बनेको छ ।

गत असोज २३ गते खप्तडछान्ना गाउँपालिकामा रहेको नेपाल टेलिकमको टावरमा अज्ञात समूहले तोडफोड गरेपछि गाउँपालिका सम्पर्कविहीन बनेको हो ।

सञ्चार सम्पर्कविहीन भएपछि गाउँबाहिरका आफन्तसँग दसैँको रमाइलो साट्न नपाएको खप्तडछान्ना गाउँपालिका- ७ का प्रदीप खड्काले बताउनुभयो ।

खप्तडछान्ना गाउँपालिकास्थित गोर्खाली गाउँमा दसैँको दिन मेलासमेत आयोजना गरिएको थियो । अष्टमीको दिनदेखि टेलिफोनको नेटवर्कले काम गर्न छाडेपछि मेलामा समेत प्रभाव परेको छ । अहिले सिङ्गो गाउँपालिकामा नै नेटवर्क विहीन बनेको छ ।

गत असोज २३ गते बेलुकी अज्ञात समूहले खप्तडछान्ना –४ माझीगाउँस्थित नेपाल टेलिकमको टावरमा तोडफोड गरेरको स्थानीयले बताएका छन् ।
 
माझी गाउँमा रहेको रिमोट टावरसँगै खप्तडछान्ना –७ माडुकाट्नेको टावर पनि तोडफोड भएको नेपाल टेलिकम बझाङका प्रमुख बमबहादुर सिंहले जानकारी दिनुभयो । 

दुई टावरबीचको रेडियो लिङ्कले काम गर्न छोडेपछि २० हजार बढी नागरिक सम्पर्कविहीन भएको उहाँले बताउनुभयो । अहिले यी दुईवटै टावर मर्मतको काम भइरहेको बताउनुभयो । जिल्लामा दक्ष जनशक्ति अभाव र सबै उपकरण नयाँ राख्नुपर्ने भएकाले समय लाग्ने प्रमुख सिंहले बताउनुभयो । 

टावरमा तोडफोड गर्नेको अहिले खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख युवराज भण्डारीले बताउनुभयो । टावर जङ्गलमा रहेको हुँदा घटनाको वास्तविकता पत्ता लगाउन कठिनाइ भइरहेको जनाइएको छ ।