काठमाण्डौं, कात्तिक ५ :

प्रधानमन्त्री केपी शर्मा ओलीले बाढी,पहिरो र डुबानपछिको अवस्थामा राहत र पुनःस्थापनाका लागि सरकारका तर्फबाट गर्नुपर्ने काममा कुनै कमी नहुने स्पष्ट गर्नुभएको छ ।

नेकपा एमालेको सिन्धुली जिल्ला कमिटीले हालैको बाढी,पहिरो र डुबानका कारण भएको जनधनको क्षतिका सम्बन्धमा आज प्रधानमन्त्री निवास बालुवाटारमा दिएको ध्यानाकर्षणपत्र बुझ्दै प्रधानमन्त्री ओलीले पछिल्ला मन्त्रिपरिषद्का बैठक र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद्का बैठकबाट समयतालिका तोकेर राहत र पुनःस्थापनाका काम प्रभावकारी रुपमा अघि बढाउन निर्णय गरिएको जानकारी गराउनुभयो ।

उहाँले सरकार सबै सम्बन्धित अङ्गले पीडितका पक्षमा सक्दो काम गरिरहेकाले अराजकता र अस्थिरता मच्याउन चाहनेहरुले फैलाएका अनावश्यक भ्रम चिरेर ढुक्कका साथ आफ्नो जिम्मेवारी पूरा गर्न आग्रह गर्नुभयो ।