काठमाण्डौँ , कात्तिक ६ :

रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीको अन्तर्राष्ट्रिय महासङ्घ (आइएफआरसी) ले मनसुनका अवधिमा नेपालका विभिन्न स्थानमा आएको बाढीपहिरो तथा डुबान प्रभावितलाई आवश्यकताका आधारमा सङ्कटासन्न समुदायलाई मानवीय सहयोग जारी रहेको जनाएको छ ।

आइएफआरसीले नेपाल रेडक्रसमार्फत हालसम्म यस वर्षको बाढीपहिरो तथा डुबानबाट प्रभावित करिब पाँच हजार जनालाई खोज तथा उद्धार, प्राथमिक उपचार, सुरक्षित स्थानमा स्थानान्तरण तथा खाद्यान्न वितरणमा सहयोग गरेको जनाएको छ । 

साथै  बाढीपहिरो प्रभावित जिल्लामा तत्काल राहत वितरण गर्नेगरी नेपाल रेडक्रसका  विभिन्न गोदामघरबाट हालसम्ममा तीन करोड १३ लाख ८० हजार बराबरको गैरखाद्य राहत सामग्री (कम्बल, त्रिपाल, म्याट्रेस, सरसफाइ कीट ब्ल्याङ्केट, स्लिपिङ ब्याग आदि) जिल्ला शाखामा पठाइएको जनाइएको छ । 

नेपाल रेडक्रसद्वारा जारी विज्ञप्तिका अनुसार  हालसम्म तीन आठ सय १७ परिवारलाई दुई करोड २७ लाख बराबरको नगद र गैरखाद्य राहत सामग्री वितरण गरिसकिएको छभने  आठ सय ७४ जना स्वयंसेवक तथा कर्मचारी खोज तथा उद्धारकार्यमा परिचालित भएका छन् ।

आइएफआरसीका महासचिव जगन चापागाईँले गत असोज १०, ११ र १२ गतेको  बाढीपहिरो तथा डुबान प्रभावितका लागि तत्काल आइएफआरसीको आपत्कालीन सहयोग कोषमार्फत नौ करोडको सहयोग उपलब्ध गराउने घोषणा गर्नुभएको थियो ।