
पाल्पा, असोज १० :
पाल्पाको रिब्दीकोट गाउँपालिका ६ ढुस्टुङ्गमा पहिरोमा परी बेपत्ता भएकी ५९ वर्षीया महिला मृत अवस्थामा भेटिएकी छन् ।
हिजो गएको पहिरोले स्थानीय घरहरूमा क्षति पुर्याउनुका साथै ५९ वर्षीया कृष्ण कुमारी सारु बेपत्ता भएकी थिइन्। आज जिल्ला प्रहरी कार्यालय पाल्पाबाट प्रहरी अधिकृतसहितको संयुक्त सुरक्षा उद्धार टोलीले खोजी कार्यका क्रममा महिलाको शव पहिरो गएकै स्थानमा फेला पारेको हो।
हालसम्म पनि अविरल वर्षा भएका कारण उद्दारमा कठिनाई भएको प्रहरीको भनाइ छ । सो स्थानमा दुई वटा तीन तले कच्ची घर पहिरोले भत्किएर पूर्ण क्षति भएको छ । दुई घरका अन्य सदस्यले भने भागेर ज्यान जोगाउन सफल भएको स्थानीयले बताएका छन् ।