
एसियाली पूर्वाधार विकास बैंकको सञ्चालक समितिको ११ औं वार्षिक बैठकमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अर्थमन्त्री डा.स्वर्णिम वाग्ले आज साँझ कतारको राजधानी दोहा प्रस्थान गरेका छन् ।
मन्त्री डा वाग्ले कतार एयरवेजको नियमित उडान मार्फत दोहा प्रस्थान गरेका हुन् । प्रतिनिधिमण्डलमा अर्थ मन्त्रालय, अन्तर्राष्ट्रिय आर्थिक सम्बन्ध महाशाखा प्रमुख, सहसचिव अमृत लम्साल रहेका छन् ।
एसियाली पूर्वाधार विकास बैंकको ११औँ वार्षिक बैठकका क्रममा अर्थमन्त्रीले बैंकको बोर्ड अफ गभर्नर्सको सत्रमा सहभागिता जनाउँदै नेपालको पूर्वाधार विकास, जलवायु अनुकूलन, नवीकरणीय ऊर्जा, विपद्पछिको पुनर्निर्माण र आर्थिक वृद्धिका प्राथमिकताहरूमा बहुपक्षीय सहयोग तथा लगानी परिचालनबारे छलफल गर्नेछन् ।
भ्रमणका क्रममा अर्थमन्त्रीले एसियाली पूर्वाधार विकास बैंकका अध्यक्षसँगै भारत, बंगलादेश, कतार र मालदिभ्सका अर्थमन्त्रीहरुसँग छुट्टाछुट्टै द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ ।
वार्षिक बैठक तथा निर्धारित द्विपक्षीय संवादहरू सम्पन्न गरी अर्थमन्त्री वाग्ले नेतृत्वको प्रतिनिधिमण्डल असोज १४ गते स्वदेश फिर्ता हुनेछन् ।