
विश्वबन्धुत्व, सांस्कृतिक पर्यटन र सद्भावनाको सन्देश सहित विश्व राष्ट्रगान यात्री रामजी नेपाली भारत यात्रामा निस्कनुभएको छ ।
सोमबार पोखरादेखि बुटवल हुँदै उहाँ भारतको देहरादुनतर्फ लाग्नुभएको हो । नेपालीले एक सय ६० देशका राष्ट्रगान गाउँदै आउनुभएको छ । चन्द्र- सूर्य अङ्कित झन्डासहित देहरादुन, दिल्लीलगायत भारतका विभिन्न सहरको यात्रा गर्ने उहाँले बताउनुभयो ।
“केही समय देशभित्रैका विभिन्न ठाउँ घुमे, अब तीन महिनाजति भारतमा रहन्छु”, नेपालीले भन्नुभयो, “राष्ट्रगान मार्फत शान्ति र विश्वबन्धुत्वको भावना जागृत गराउनु मेरो उद्देश्य हो, नेपालको सांस्कृतिक पर्यटनलाई यो यात्राले टेवा पुर्याउने मेरो विश्वास छ ।” नेपालीले गत वर्ष पोखराको फेवाताल किनारमा दैनिकजसो राष्ट्रगान सुनाएर विदेशी पर्यटकमाझ आफूलाई प्रस्तुत गर्नुभएको थियो ।
आफ्नो देशको राष्ट्रगान नेपालीको गलाबाट सुन्दा विदेशी पर्यटकहरू टक्क रोकिएर राष्ट्रगानको सम्मान गरेको दृश्य मन छुने खालको देखिन्थ्यो । अन्य दर्शकले पनि नेपालीले अनेक भाषामा सम्बन्धित देशका राष्ट्रगान गाइरहँदा चाखपूर्वक सुन्थे । अर्कै महादेशमा आफ्नो देशको राष्ट्रगान त्यो पनि विदेशी गायकले गाएको देखेर पर्यटकहरू दङ्ग परे ।
कोभिड- १९ महामारीयता बाहिरी देशको यात्रा प्रभावित बनेपछि उहाँले पछिल्लो समय पर्यटकीय राजधानी पोखरालाई आधार बनाएर सङ्गीत साधना र विश्वयात्राको अभियानलाई अगाडि बढाउँदै आउनुभएको थियो ।
नेपाललाई विश्व बजारसँग जोड्ने र पर्यटन प्रवर्द्धन गर्ने ध्येय लिएर आफू यात्रामा निस्केको उहाँले सुनाउनुभयो ।