मितेरी बचत तथा ऋण सहकारीको रकम अपचलनमा संलग्न ज्योति गुरुङ र ज्योति भण्डारीविरुद्ध रेड नोटिस जारी गर्न इन्टरपोललाई पत्राचार गरिएको छ ।
केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीको सिफारिसमा नेशनल सेन्ट्रल ब्युरो एनसीबीले इन्टरपोलको महासचिवालयमा पत्राचार गरेको केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिनुभयो ।
ललितपुर महानगरपालिका–५ स्थित महालक्ष्मीस्थानमा सञ्चालित मितेरी बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनबारे सिआइबीले अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । रकम अपचलन भएको भन्दै सहकारी सञ्चालक समिति सदस्य बोधविक्रम थापाले सिआइबीमा जाहेरी दिनुभएको थियो ।
सहकारीको रकम अपचलन गरेको आरोपमा ज्योति गुरुङ,ज्योतिबहादुर भण्डारी,सुजन शाक्य,हितमान थापा र प्रकाश यादवविरुद्ध अदालतबाट पक्राउ पुर्जी जारी भइसकेको प्रहरीले जनाएको छ ।
उनीहरुविरुद्ध सहकारीको रु १२ करोड ५१ लाख हिनामिना गरेको आरोप छ ।