काभ्रे, कात्तिक ९ :

काभ्रेको मण्डनदेउपुर नगरपालिका- १० चण्डेनीस्थित तीनधारामा निर्माणाधीन नमूना एकीकृत बस्ती निर्माण बजेट अभावका कारण दुई वर्षदेखि रोकिएको छ । 

बस्ती निर्माणको काम २०७४ सालमा राष्ट्रिय पुनः निर्माण प्राधिकरणद्वारा तीन वर्षमा सक्नेगरी काम थालिएको थियो । ‘कोरोना- प्रभाव’लगायत कारण ढिलासुस्ती हुँदै आएको उक्त बस्ती निर्माण  बजेट अभावले दुई वर्षदेखि रोकिएको हो । 

योजना अन्तर्गत छ वटा घर बन्न बाँकी छन भने बनेका घरहरूको ‘फिनिसिङ’ गर्न बाँकी छ । नमूना बस्ती निर्माण योजनाअन्तर्गत ३० घर र एक सामुदायिक भवन निर्माण गर्नुपर्ने हो । बजेट अभावमा दुई वर्षदेखि निर्माण रोकिएको निर्माण समितिले जनाएको छ । 

उक्त बस्ती निर्माण सम्पन्न हुनु अघिनै प्राधिकरणको म्याद सकिएपछि त्यहाँ घर निर्माणसँगै फिनिसिङको कामसमेत अलपत्र भएको हो । 

बाँकी काम पूरा गर्न नगर कार्यालयले ४० लाख सहयोग दिने जनाए पनि अघिल्लो आर्थिक वर्षदेखि नै रकम निकासा नहुँदा बस्ती निर्माणको रोकिएको हो ।

बस्तीका परिकल्पनाकार एवं स्थानीय अगुवा रामबहादुर लामाका अनुसार नगरको सहयोगबाट बस्तीको बाँकी काम सक्ने योजना बनाइए पनि रकम निकासा नहुँदा अलपत्र भएको हो । 

सरकारको योजना अनुसार नै तामाङ संस्कृति मार्फत आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ‘होम- स्टे’सहितको नमूना तामाङ बस्तीको निर्माण थालिएको थियो । 

नगरप्रमुख टोकबहादुर वाइबाले अघिल्लो चरणमा लगेको पेश्की फछर्यौट भएपछि मात्रै बस्तीको लागि निर्णय गरिएको रकम निकासा गर्न सकिने बताउँनुभयो ।

यसअघि नगरले १० लाख सहयोग गरेको थियो । उक्त सहयोगबाट जस्तापाता लगायत निर्माण सामग्री खरिदका कागजपत्र नगरमा पेस गरिएको समितिले जनाएको छ । 

प्राधिकरणबाट पनि समयमा रकम निकासा नहुँदा बस्ती निर्माण समितिले ऋण गरेर निर्माणलाई निरन्तरता दिएको निर्माण समितिका अध्यक्ष आइतमान तामाङले बताउनुभयो । 

केही वर्षअघिसम्म स्थानीयस्तरमै पटकपटक ५४ लाख ऋण लिएर र जनश्रमदानले बस्ती निर्माणको कामलाई निरन्तरता दिइएको उहाँले बताउनुभयो । प्राधिकरणबाट  दुई करोड ८० लाख रकम निकासा भएको उहाँले जानकारी दिनुभयो ।

उक्त रकम एकीकृत बस्तीमा पहुँच सडक तथा अन्य सांस्कृतिक संरचना बनाउन खर्च भएको छ ।