तनहुँ, कात्तिक ९ :

तनहुँको म्याग्दे गाउँपालिकाले पालिकाका सबै सेवा एकीकृत रूपमा प्रदान गर्न घरदैलोमै घुम्ती शिविर आयोजना गरेपछि स्थानीयवासी खुसी भएका छन् ।

सेवा लिन पालिकासम्म आउनुपर्ने बाध्यताको अन्त्यका लागि पालिकाले घरदैलो सेवा सुरु गरेपछि स्थानीयवासी खुसी भएका हुन् । 

घुम्ती शिविरबाट घरदैलोमै सेवा पाउँदा सहज भएको म्याग्दे गाउँपालिका- १ का दुर्गा रानाले बताउनुभयो । पालिकाबाट प्रदान गरिने सेवा लिन प्रमुख प्रशासनिक केन्द्रसम्म पुग्नुपर्ने बाध्यता रहेकामा पालिकाले घरदैलोमा आएर सेवा दिँदा सजिलो भएको उहाँले सुनाउनुभयो । 

गत असोज ६ गतेदेखि घरदैलोमा पुगेर एकीकृत सेवा सुरु गरिएको हो ।  जसअनुसार वडा नं १, २, ३ र ७ मा दसैँ अगावै एकीकृत घुम्ती शिविर सम्पन्न भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो । 

वडा नं १ को बाख्रे, बच्र्याङ, गुणादी, वडा नं २ को गुन्जरापार्टीचौर, वडा नं ३ को झिमिरे चोक र निर्मलबस्ती, वडा नं ७ को समिधारा स्वास्थ्य केन्द्र, तिल्याटार सामुदायिक भवनमा एकीकृत घुम्ती शिविर सम्पन्न भइसकेको छ । 

दसैँ पश्चात् वडा नं ४, ५ र ६ मा एकीकृत घुम्ती शिविर सुरु गरिएको र जसअनुसार वडा नं ४ को कोलडाँडा स्वास्थ्य भवन, गणेश माविमा मङ्गलबार र सोही वडाको छिम्लीस्वाँरा कालिका मोइ समूह भवनमा बुधबार शिविर सञ्चालन गरिएको वडाध्यक्ष दीपक श्रेष्ठले जानकारी दिनुभयो ।  

वडा नं ५ को माथिल्लो घडेरी, छाङ पाटन, साउनेपानी, बोटेनीटारमा आज र भोलि तथा वडा नं ६ को सर्वलाङ, रत्न मावि, तिलाहार र गाउँस्वारा र अकला सामुदायिक भवनमा कात्तिक ११ र १२ गते शिविर सञ्चालन गरिने पालिकाले जनाएको छ ।