
विश्व बैङ्क तथा अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा भागलिने सिलसिलामा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल र एसियाली विकास बैंक (एडिबी) का उपाध्यक्ष यिगमिन यागसँग भेटवार्ता भएको छ ।
त्यस अवसरमा उहाँहरूबीच उक्त भेटघाटमा एसियाली विकास बैंकको वर्तमान पूँजी तथा भविष्यमा नेपालसँग हुनसक्ने सहकार्य बारे छलफल भएको त्यहाँस्थित नेपाली राजदूतावासले जनाएको छ ।
उपप्रधानमन्त्री पौडेलले नेपालको विकास- निर्माणका परियोजनामा बैङ्कले निर्वाह गरेको भूमिकाको प्रशंसा गर्नुभयो ।
हालैको बाढीपहिरोबाट प्रभावित नेपाललाई बैङ्कले ३० लाख अमेरिकी डलर अनुदान प्रदान गरेकामा उहाँले आभार व्यक्त गर्नुभयो ।
उपाध्यक्ष यागले नयाँ साझेदारी रणनीतिको संरचनागत प्रक्रिया बारेमा मन्त्री पौडेललाई जानकारी दिनुभएको राजदूतावासले जनाएको छ ।
यसैगरी, उपप्रधानमन्त्री पौडेलले विश्व बैङ्कका कार्यकारी निर्देशक विम्पी सपुत्रासँग पनि भेटवार्ता गर्नुभएको छ । निर्देशक सपुत्राले नेपालको विकास प्रयासमा बैङ्कको सहभागिता अभिवृद्धि गरिने आश्वासन दिनुभएको थियो ।
उपप्रधानमन्त्री पौडेलले आजै अन्तर्राष्ट्रिय वित्त निगमका उपाध्यक्ष रिकार्डो पुलिटीसँग पनि भेटवार्ता गर्नुभएको छ ।