
पूर्व गृहमन्त्री रवि लामिछाने र पूर्व प्रहरी नायब महानिरीक्षक छविलाल जोशीलाई म्याद थपका लागि आज कास्की जिल्ला अदालत लगिँदै छ ।
लामिछाने र जोशीलाई पोखराको सूर्यदर्शन सहकारीको रकम गोरखा मिडियामा अवैधानिक रूपमा लगी ठगीमा संलग्न रहेको आरोप छ ।
दुवै गोरखा मिडिया प्रालिका पूर्व सञ्चालक समेत हुन् ।
कात्तिक २ गते शुक्रवार काठमाडौँबाट पक्राउ गरी कास्की पुर्याइएका लामिछानेसँग आइतबारबाट बयान लिन थालिएको हो ।
सूर्यदर्शनका अर्का सञ्चालक छविलाल जोशीलाई गएको असोज ६ गते काठमाडौँबाट पक्राउ गरी पोखरा लगिएको थियो । जोशीलाई रूपन्देही प्रहरीले त्यहाँको अर्को सहकारी ठगी प्रकरणमा समेत अनुसन्धान गरी हिजो नै कास्की ल्याएको छ ।
सूर्यदर्शनमा १८ हजार सात सय बचतकर्ताको एक अर्ब ३५ करोड रकम हिनामिना भएको छ ।
त्यस्तै, गोरखा मिडियामा पोखराको सूर्यदर्शन सहित देशका विभिन्न सहकारीबाट ६५ करोड रकम अवैधानिक रूपमा गएको संसदीय समितिको प्रतिवेदनमा उल्लेख छ ।
पक्राउको विरोधमा आज रास्वपाले कास्कीमा शान्तिपूर्ण प्रदर्शन गर्ने तयारी गरेको छ भने निष्पक्ष छानबिन र बचत फिर्ता माग गर्दै सहकारी पीडित सङ्घर्ष समितिले पनि प्रदर्शन गर्ने जनाएका छन् ।