तनहुँ, कात्तिक ९ :

बन्दीपुर गाउँपालिकाले यस वर्ष २० किलोमिटर सडक कालोपत्र गर्ने भएको छ ।

पूर्वाधार विकास कार्यक्रम अन्तर्गत गाउँपालिकाले सडक कालोपत्र तथा स्तरोन्नतिलाई प्राथमिकतामा राखेको गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले जानकारी दिनुभयो । 

सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारबाट विनियोजित बजेटबाट गाउँपालिकाका सबै वडा जोड्ने बाटोमा बाह्रै महिना सवारीसाधन चल्ने बनाउन यो वर्ष २० किलोमिटर बाटो कालोपत्र गरिने उहाँले बताउनुभयो । 

बेलभन्ज्याङ- बानियाँटार सडकमा रु एक करोड, रिमाल्नी- भुडाटार जाने सडकमा ५० लाख, बन्दीपुर- ढाडखोला मोटरमार्ग अन्तर्गत भुमर्से- हल्थुम्कासम्म तीन किमि सडक कालोपत्र, वडा २ कै सिमलटारमा ५० लाख, वडा नम्बर ३ नम्बरको सेराटारबाट सुखौरा जाने सडकमा दुई करोड, वडा नम्बर ३ को कार्यालयदेखि रामकोटसम्म जाने सडकमा ५० लाखको कालोपत्रको योजना सुरु भएको अध्यक्ष थापाले जानकारी दिनुभयो । 

यसैगरी, वडा नम्बर ४ को बन्दीपुर रिङरोडमा कालोपत्र तथा प्रहरी बिटबाट टुँडिखेल जाने बाटो कालोपत्र भएको छ । 

अध्यक्ष थापाले शहरी आयोजना मार्फत शिखरडाँडाबाट तल्लो डुम्रे जाने बाटो कालोपत्र भएको जानकारी दिनुभयो ।