काभ्रे, कात्तिक ९ :

गत असोज दोस्रो साताको बाढीपहिरोले क्षतिग्रस्त विपी राजमार्गका विभिन्न सडकखण्डको पुनःनिर्माणका लागि सडक डिभिजन कार्यालय भक्तपुर जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को निर्णयको पर्खाइमा बसेको छ । 

कार्यालयले केही दिनमै जाइकाको निर्णय आउने भएकाले निर्णय आएलगत्तै पुनःनिर्माणको काम थालिने जनाएको छ । 

विपी राजमार्ग (धुलिखेल- सिन्धुली- बर्दिबास)अन्तर्गत काभ्रेपलाञ्चोकको चौकीडाँडादेखि सिन्धुलीको बर्खे खोलासम्मको सडकखण्डको अधिकांश सडक क्षतिग्रस्त अवस्थामा रहेको छ । 

बाढीपहिरोले अवरुद्ध राजमार्ग दुई हप्तापछि सञ्चालनमा ल्याइए पनि सुक्खा पहिरोको जोखिमका कारण कार्यालयले गत असोज ३० गतेदेखि नै साँझ ६ देखि १० घण्टा (रातको समय) यातायात सञ्चालनमा रोक लगाएको छ । 

केन्द्रीय राजधानी काठमाडौँलाई मध्यपहाडी तथा पूर्वी नेपालसँग जोड्ने छोटो मार्गका रुपमा रहेको उक्त राजमार्ग कतै एकतर्फी तथा कतै दुईतर्फी हुने गरी सञ्चालनमा ल्याइएको थियो । 

उक्त राजमार्ग पुनःनिर्माणका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले गत असोज ३० गते नेपालका लागि जापानका राजदूत किकुता युताकासँग शिष्टाचार भेट गरी सहयोगबारे छलफल गर्नुभएको थियो । 

जाइकाको ‘रेस्पोन्स’ को पर्खाइमा छौँ, एक- दुई दिनमा निर्णय आएपछि निर्माण थालिनेछ”, कार्यालयका प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशले भन्नुभयो, “पुनःनिर्माणका ढिला गर्ने पक्षमा छैनौँ, तत्कालै निर्माण थाल्नेगरी सरोकारवाला निकायसँग छलफल पनि सुरु भइसकेको छ ।” 

ओलीसँग राजमार्ग पुनःनिर्माणबारे भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले एक/ दुई दिनमै थप छलफल गर्ने योजना तय गरिएको पनि उहाँले बताउनुभयो।

बाढीपहिरोका कारण पूर्णरुपमा अवरुद्ध भएको उक्त राजमार्ग सडक विभाग, डिभिजन कार्यालय, राजमार्गअन्तर्गतका स्थानीय तह, नेपाली सेना लगायत सुरक्षाकर्मी तथा स्थानीयको निरन्तरको पहलमा असोज २५ गतेबाट सञ्चालन गर्न सफल भइएको हो ।