
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले नेपाल एयरलाइन्सलाई सुधार गर्दै विद्यमान समस्याको दीर्घकालीन समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
सरकार गठन भएको एक सय दिनको अवधिमा मन्त्रालयबाट भएका प्रमुख उपलब्धि बारे जानकारी दिन आज आयोजित पत्रकार सम्मेलनमा उहाँले नेपाल एयरलाइन्समा देखिएका समस्याहरू समाधान गर्दै भरपर्दो सेवा प्रवाह गरिने उल्लेख गर्नुभयो ।
नेपाल एयरलाइन्समा रहेका विद्यमान समस्या पहिचान गरी दीर्घकालीन समाधान गर्न मन्त्रालयले पहल सुरु गरेको पनि उहाँले बताउनुभयो । नेपाल नागरिक उड्डयन क्षेत्रको समष्टिगत अध्ययन एवं विश्लेषण गरी सुरक्षित, भरपर्दो तथा विश्वसनीय बनाउन समिति गठन गरेर काम अघि बढाइसकेको उहाँको भनाई थियो ।
मन्त्री पाण्डेले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई नियामक र सेवाप्रदायक निकायका रुपमा छुट्याउन नेपाल नागरिक उड्डयन प्राधिकरणलाई एकीकरण र संशोधन गर्न बनेको विधेयक र हवाई सेवा प्राधिकरणको स्थापना तथा व्यवस्था गर्न बनेको विधेयक सङ्घीय संसद्मा दर्ता गर्न मन्त्रिपरिषद्बाट स्वीकृति लिनुपर्ने बताउँदै मन्त्रिपरिषद्मा ती विधेयक पेस गरिएको जानकारी दिनुभयो ।
हालै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्न सहुलियत एवं प्रोत्साहन सहितको कार्ययोजना मन्त्रिपरिषद्बाट स्वीकृत भई कार्यान्वयनको चरणमा रहेको पनि बताउनुभयो ।