
सरकारले डेङ्गुको महामारी फैलन नदिन आज देशभरका सरकारी कार्यालय परिसर सरसफाइ अभियान सञ्चालन गरेको छ ।
बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले आज बिहान १० बजे देशभरका सम्पूर्ण सरकारी कार्यालय परिसरमा सरसफाइ गर्ने निर्णय गरेको थियो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्बाट उक्त निर्णय भएको सरकार प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयो ।
डेङ्गी फैलन नदिन पानी जम्ने ठाउँ, मोटर ग्यारेज, कवाडी स्टोर लगायत जोखिम भएका स्थानमा सरसफाइ अभियान सुरु गर्ने स्वास्थ्य मन्त्रालयको प्रस्ताव अनुसार नै डेङ्गी नियन्त्रण अभियान सञ्चालन गर्ने निर्णय भएको उहाँले बताउनुभयो ।
यसैबीच, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले मन्त्रिपरिषद्को निर्णयानुसार आज बिहान १० बजे आ- आफ्ना कार्यालय परिसरमा सरसफाइ गरी डेङ्गी नियन्त्रण अभियान सञ्चालन गर्न मातहतका कार्यालयलाई निर्देशनसमेत दिएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले देशका केही जिल्लामा डेङ्गुको प्रकोप बढिरहेकाले यसलाई तत्कालै रोकथाम गर्न सरकारले आज बिहान १० बजे देशव्यापी रुपमा ‘लामखुट्टे खोजी र नष्ट’ अभियान थालेको जानकारी दिनुभयो ।
उहाँले डेङ्गी नियन्त्रणमा सक्रिय सहभागिताका लागि सरोकारवाला निकाय, निजामती कर्मचारी, सुरक्षा निकाय, सामाजिक अभियन्ताका साथै आमनागरिक समक्ष आग्रह गर्नुभएको छ ।