काठमाण्डौँ , कात्तिक १० :

खानेपानीमन्त्री प्रदीप यादवको निर्देशनपश्चात् काठमाडौँको किर्तिपुरस्थित सुन्दरीघाटबाट आजदेखि खानेपानी वितरण पुनः थालिएको छ । 

गत असोज ११ र १२ गतेको अविरल वर्षासँगैको आएको बाढीका कारण मुहान सहित पाइपलाइन बगाएपछि खानेपानी वितरण कार्य अवरुद्ध बनेको थियो । 

ललितपुरको नख्खु खोलाको पानी बिहीबार सुन्दरीघाटको पानी प्रशोधन केन्द्रमा ल्याइएपछि आजदेखि पुनः खानेपानी वितरण कार्य सुरु गरिएको काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेल) का त्रिपुरेश्वर शाखाका प्रमुख सुमन बहादुर बस्नेतले जानकारी दिनुभयो ।

बाढीका कारण क्षति भएको मुहान मर्मत गरेर सुन्दरीघाटको पानी प्रशोधन केन्द्रमा ल्याउन सफल भएको उहाँले बताउनुभयो । उक्त पानी आजदेखि बल्खु, टेकु, सबल बहाल लगायतका क्षेत्रमा वितरण गरिने प्रमुख बस्नेतले बताउनुभयो ।

केयुकेएलका प्रमुख कार्यकारी निर्देशक अशोक पौडेलका अनुसार शनिबारदेखि तोकिएको तालिका अनुसार पानी वितरण हुने छ ।

गत असोज दोस्रो साता आएको बाढी तथा पहिरोले मुलुकभर पाँच सय २५ खानेपानी आयोजनामा क्षति पुर्याएको थियो । ती योजना मर्मत कार्य थालिएको खानेपानीमन्त्री यादवले जानकारी दिनुभयो ।