नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले एउटै पार्टीको नाममा दुईवटा महाधिवेशन हुन नसक्ने स्पष्ट पार्दै समानान्तर महाधिवेशन तथा पार्टी गतिविधिमा संलग्न नहुन सम्बन्धित नेताहरूलाई चेतावनी दिएका छन्।
केन्द्रीय समिति बैठकको सुरुमै धारणा राख्दै थापाले पार्टी छाडेर अर्को दलमा जाने भए सम्बन्धित पदबाट राजीनामा दिनसमेत सुझाव दिएका छन्। उनले राजीनामा नदिई समानान्तर गतिविधिमा सक्रिय रहे पार्टी विधानअनुसार कारबाही गरिने चेतावनी दिएका छन्।
निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले मंसिर २१ देखि २३ गतेसम्म १५औँ महाधिवेशन गर्ने तयारी गरिरहेका बेला सभापति थापाले कांग्रेसको १५औँ महाधिवेशन सम्पन्न भइसकेको उल्लेख गर्दै अब पार्टीकै नाममा अर्को महाधिवेशन गर्न नमिल्ने बताएका हुन्।
‘अधिवेशनमा आउनुभयो वा आउनुभएन फरक पर्दैन। तर तपाईंले कांग्रेस छाडेर अर्को नयाँ पार्टीमा जानुभयो भने तपाईं जुन सभामा हुनुहुन्छ, राजीनामा गर्नुहोला। गर्नुभएन भने विधानले गर्छ। विधान कार्यान्वयन गर्नु मेरो जिम्मेवारी हो,’ थापाले बैठकमा भने।
थापाको यो अभिव्यक्ति निवर्तमान सभापति देउवा पक्षले छुट्टै महाधिवेशन गर्ने तयारी गरिरहेका बेला आएको हो। कृष्णप्रसाद सिटौलालगायत केही नेताहरू राष्ट्रिय सभा सदस्यसमेत रहेका अवस्थामा छुट्टै महाधिवेशनको तयारीमा जुटिरहेका छन्।
सभापति थापाले आफू कसैलाई पनि पार्टीबाट निष्कासन गर्न नखोजेको स्पष्ट पार्दै पार्टीको विधान र निर्णयविपरीत हुने गतिविधि भने स्वीकार्य नहुने संकेत गरेका छन्। उनले राष्ट्रिय सभा तथा स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरूलाई समेत पार्टीको विधानको ख्याल गर्न आग्रह गरेका छन्। पार्टीको आधिकारिक संरचनाभन्दा बाहिर रहेर समानान्तर गतिविधि सञ्चालन गर्ने र अर्को राजनीतिक दलमा आबद्ध हुने प्रवृत्तिलाई विधानअनुसार कारबाही गर्ने उनले चेतावनी दिए।