
दाङमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ३ जना गम्भिर घाइते भएका छन् ।
दुर्घटनामा जिप चालक दंगीशरण गाउँपालिका ४ बैबाङका २२ वर्षीय हिरामणि बुढामगर र कपुरकोट गाउँपालिका ६ बस्ने १९ वर्षीय सुरेश खड्काको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।
उनीहरु दुबै जनाको उपचारको क्रममा राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा बिहान साढे ६ बजेतिर मृत्यु भएको हो । यस्तै दुर्घटनामा परी घाइते हुनेमा कपुरकोट गाउँपालिका ६ बस्ने ३१ वर्षीया देवा वली,उनका १३ वर्षीय छोरा १३ महेश वली र १० वर्षीय छोरा १० जीवन वली रहेको प्रहरीले जनाएको छ ।
रोल्पा कोइलाबाट दाङको तुलसीपुरतर्फ आउँदै गरेको रा १ ज ८२२ नम्बरको डबल क्याप जिप आझ बिहान करिब ४ बजेतिर राप्ती राजमार्ग अन्तर्गत तुलसीपुर उपमहानगरपालिका ३ साततलेमा दुर्घटना भएको हो ।
जिप सडकदेखि करिब ३ सय मिटर तल खसेको छ । गाडीमा चालकसहित ५ जना सवार रहेको प्रहरीले जनाएको छ ।