कागेश्वरी मनोहरा नगरपालिकाले लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानअन्तर्गत बुधबार थलीमा उद्घाटन तथा प्रतिबद्धता कार्यक्रम आयोजना गर्यो ।
नगरपालिकाको महिला, बालबालिका तथा समाजकल्याण शाखाको आयोजनामा भएको कार्यक्रममा वक्ताहरुले लैङ्गिक हिंसा अन्त्यका लागि पीडितको संरक्षण, दण्डहीनताको अन्त्य र न्यायको सुनिश्चितता गर्नुपर्नेमा जोड दिए।
‘लैङ्गिक हिंसा अन्त्यका लागि ऐक्यबद्धता : पीडितको संरक्षण, दण्डहीनताको अन्त्य र न्यायको सुनिश्चितता’ भन्ने मूल नाराका साथ आयोजित कार्यक्रममा वक्ताहरूले लैङ्गिक हिंसा न्यूनीकरणका लागि पीडितको न्यायमा सहज पहुँच र आर्थिक सशक्तीकरण आवश्यक रहेको बताए।
कार्यक्रममा नगरप्रमुख उपेन्द्र कार्की, उपप्रमुख शान्ता थापा, प्रमुख प्रशासकीय अधिकृत डा. श्रवणकुमार साह, वडाध्यक्षहरू, विभिन्न शाखाका प्रमुख, सरोकारवाला निकाय तथा संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । उनीहरुले लैङ्गिक हिंसा अन्त्यका लागि आ-आफ्नो क्षेत्रबाट सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे।
पीडितको सुरक्षा सुनिश्चित गर्दै दोषीलाई कानुनी दायरामा ल्याउन र लैङ्गिक हिंसा अन्त्यका लागि सबै सरोकारवाला पक्षबीच सहकार्य आवश्यक रहेको बताए। साथै हिंसापीडितलाई सहज, छिटो र छरितो न्याय उपलब्ध गराउन न्याय प्रणालीलाई प्रभावकारी बनाउनुपर्नेमा उनीहरूले जोड दिए ।