काठमाण्डौं, कात्तिक १२ :

उडान अनुमति नलिई काठमाडौँ आएको थाई एयर एसियाको विमानलाई नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले कारबाही गरेको छ ।

थाइल्याण्डबाट काठमाडौँ आएको उक्त विमानलाई अवतरण गर्न दिएर कारबाही गरेको हो । करिब एक घण्टा‘होल्ड’भएपछि विमान काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो ।

थाई एयर एसियाको उडान तत्कालका लागि निलम्बन गरिएको प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलले जानकारी दिनुभयो ।

नेपालको आधिकारिक एजेन्ट(जीएसए)पनि रद्द भएको छ ।

थाई एयर एसियाको उक्त विमानको शनिबार सम्म मात्रै उडान अनुमति रहेकाले आजको उडानलाई ‘विशेष चार्टर्ड’उडानको अनुमति दिइएको जानकारी दिनुभयो ।
“विमानलाई धेरै समय होल्डिङ गर्दा सुरक्षाको विषय पनि आउछ”,उहाँले भन्नुभयो,“यात्रुको सुरक्षा र मानवीयताको कारणले आजको उडानलाई अनुमति दिएर विमान अवतरण गरिएको हो । 
अब तत्कालको लागि नेपालको सम्पूर्ण अनुमति रद्द गरिएको छ ।जिएसए पनि रद्द भएको छ ।”

विशेष चार्टर्ड उडान अनुमति पाएको सो विमानले काठमाडौँबाट आजै यात्रुलिएर बैंकक फर्किने विमानस्थल कार्यालयले जनाएको छ ।

थाई एयर एसियाले अक्टोबर २६ अर्थात् कात्तिक १० गतेसम्मका लागि मात्रै उडान अनुमति लिएको थियो ।

प्राधिकरणले आजदेखि अन्तर्राष्ट्रिय उडानको ‘विन्टर सेड्युल’ बनाएको थियो । अनुमति नलिई विमान अवतरण गर्न खोजेपछि प्राधिकरणले कारबाही गरेको हो ।

प्राधिकरणले (२७ अक्टोबर २०२४ देखि ३१ मार्च २०२५) सम्मको उडान तालिका सार्वजनिक गरेको छ । थाई एयर एसियाले गत असोज १६ गतेदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुनःउडान सुरु गरेको थियो ।