नवलपरासी, कात्तिक १३ :

नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरका पालिकाले स्थानीय रुपमा उत्पादन भएको फूल र फूलको माला प्रयोग गर्न प्रोत्साहन गरेका छन् । 

आफ्नै माटोमा उत्पादन भएको पुष्पखेतीलाई प्रोत्साहन गर्दै नवलपुरका स्थानीय तहले उपभोक्तालाई समेत स्वदेशकै स्थानीय फूलमाला प्रयोग गर्न अनुरोध गरेका हुन् । 

तिहारको समयमा प्लाष्टिकका फूलमालाले बजार नै छपक्कै ढाकिन्छ । यस्ता प्लाष्टिकका फूलमालाले वातावरणमा समेत असर पार्ने र स्थानीय उत्पादनको खपत कम गर्ने हुँदा आठवटै स्थानीय तहले केही समय पहिले नै सार्वजनिक सूचना जारी गर्दै प्लाष्टिकका फूलमाला बिक्री वितरण वितरणमा रोक लगाएका छन् । साथै स्थानीय फूल र मालाको प्रयोग गर्न सूचना मार्फत अनुरोध गरेका छन् । 

स्थानीयस्तरमा पुष्पखेती गर्ने किसानलाई प्रवर्द्धन गर्न कतिपय पालिकाले बीउबिजनमा अनुदान उपलब्ध गराएको थियो ।

कावासोती नगरपालिका उपप्रमुख फूलकुमारी थनेतले कावासोती नगरपालिकामा रहेर पुष्प व्यवसाय गरेका किसानलाई प्रोत्साहन गर्न नगरपालिकाले प्लाष्टिकका फूलमालामा रोक लगाएको बताउनुभयो । 

सामाजिक सञ्जालको प्रयोग गरी, स्थानीय पुष्पखेती गर्ने किसानसँग समन्वय गर्दै उनीहरूको सम्पर्क नम्बर सहित पालिकाको पेजमार्फत सूचित गर्ने काम गरिएको बताउनुभयो । 

पालिका भित्रका उपभोक्ताले पायक पर्ने किसानसँग सोझै सम्पर्क गरेर आफूलाई आवश्यक पर्ने फूलमाला खरिद गर्नसक्ने उहाँले बताउनुभयो ।

पालिका भित्र १२ स्थानमा पुष्पखेती गरिएको र कावासोतीलाई आवश्यक पर्ने फूलमाला यहीको उत्पादनले पुग्ने विश्वास लिएको उहाँको भनाइ छ ।