खाँदबारी, कात्तिक १३ :

सङ्खुवासभाको खाँदबारीमा तिहार आउनै लाग्दा मादल खरिदबिक्री सुरु भएको छ । 

गीतसङ्गीतमा ताल बाजाको रुपमा मादल बढी नै प्रयोग गरिन्छ । चाडपर्वलाई लक्षित गरी सदरमुकाम खाँदबारी लगायत जिल्लाका अन्य मुख्य बजारमा समेत मादल बिक्री हुन थालेको छ । 

तिहारमा देउसी, भैलो खेल्दा मादल प्रयोग हुने भएकाले तिहार लक्षित मादल बिक्री सुरु भए पनि व्यापार भने घट्दो रहेको व्यवसायी बताउँछन्‌। 

एउटा मादलको मूल्य तीन हजारदेखि १५ हजारसम्म पर्ने गरेको छ । सानो र ठूलो मादलको मूल्य फरक फरक पर्दछ ।

मादल व्यवसाय गर्दै आउनुभएका भोजपुर षडानन्द नगरपालिका- ६ केउरेनिपानीका शेरबहादुर सार्कीले मादलबाट वार्षिक एक लाख ५० हजार आम्दानी हुने गरेको भए पनि पछिल्लो वर्षहरूमा व्यवसायमा निरासा आएको गुनासो गर्नुभयो । 

केही वर्षअघिसम्म ठूला चाडपर्व, स्थानीय मेलापर्वमा मादल बजाएर नाच गान गर्ने चलन थियो । तिहारमा गाउँका टोलटोलमा मादल बजाएर देउसी भैलो खेल्नेको थुप्रै समूह पाइन्थ्यो । तर आधुनिकतासँगै विद्युतीय बाजाको प्रयोग बढ्न थालेपछी मादलको महत्व कम हुँदै गएको हो । 

डिजिटल गीतसङ्गीतको कारण मादल नै सङ्कटमा पर्न थालेको छ । जसले गर्दा यो व्यवसायमा लागेकालाई भने झनै समस्या पर्दै गएको भोजपुर दिङ्लाकै अर्का मादल व्यवसायी बलबहादुर बयलकोटीले बताउनुहुन्छ। 

पहिले पहिले जोर मादल बजाएर आँगनमा देउसी खेलिन्थ्यो तर अहिले क्यासेट बजाएर सिकुवामा देउसी खेल्ने चलनले मादल लोप हुँदै गएको बयलकोटीले बताउनुभयो ।