रसुवा, कात्तिक १४ :

एक महिनादेखि बन्द रहेको रसुवागढी- केरूङ अन्तराष्ट्रिय राजमार्ग आजदेखि सञ्चालनमा आएको छ ।

अविरल वर्षाले क्षति पुर्‍याएपछि गत असोज १२ गतेबाट अवरूद्ध चिनियाँ भू- भागको सडक पुनः निर्माण सम्पन्न गरी आजबाट यातायात सञ्चालनमा ल्याईएको हो । 

सोमबारबाट सञ्चालनमा ल्याउने भनिएपनि सडकको काम नसकिएकाले आजबाट सञ्चालनमा ल्याइएको जनाइएको छ ।

आज बिहानबाट चिनीयाँ साना सवारी साधन लगायत नेपाली मालबाहक कन्टेनरहरू केरुङबाट रसुवागढी नाका हुँदै नेपाल आएको रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले बताउनुभयो ।

अहिले साना सवारी साधन लगायत १३ टन क्षमताका मालबाहक सवारी साधन मात्र सञ्चालन गरिएको चिनियाँ पक्षले जानकारी गराएको उहाँले बताउनुभयो।

रसुवागढी- केरूङ खण्ड अन्तर्गत ठोङ्सा नजिक चिनियाँ पाखामा पहिरो जाँदा सडक अवरुद्व भएको थियो भने भोटेकोशी नदीको बाढीले सडक बगाएका कारण यो नाका असोज १२ गतेदेखि बन्द रहेको थियो ।