काठमाण्डौँ , कात्तिक १४ :

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नवीकरणीय ऊर्जा क्षेत्रको प्रवर्द्धनका निम्ति सरकारबाट सक्दो सहयोग हुने बताउनुभएको छ।

त्यसका निम्ति सक्रिय भएर लाग्न वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र लगायत सम्बन्धित निकायहरूसँग उहाँले अनुरोध गर्नुभयो

केन्द्रको २८ औँ वार्षिकोत्सवका अवसरमा आज आयोजित कार्यक्रममा उहाँले नवीकरणीय ऊर्जाको विकासका लागि त्यससम्बन्धी विधेयक यथाशीघ्र पारित गर्नुपर्ने पक्षमा आफू रहेको बताउनुभयो । उहाँले संसद्को आगामी अधिवेशनमा उक्त विधेयकलाई प्राथमिकताका साथ प्रस्तुत गरिने बताउनुभयो। 

ऊर्जामन्त्री खड्काले सरकारले सन् २०३५ सम्म २८ हजार ५०० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य लिएकाले त्यसलाई पूरा गर्न केन्द्रको भूमिका महत्वपूर्ण हुने बताउनुभयो ।

मन्त्री खड्काले नवीकरणीय ऊर्जा विकासको क्षेत्रमा योगदान गरेका व्यक्ति तथा संस्थालाई सम्मान गर्नुभयो ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङले नवीकरणीय ऊर्जाका माध्यमबाट विद्युत् नभएका स्थानमा उज्यालो पुर्याउन केन्द्रले निर्वाह गरेको भूमिकाको सराहना गर्नुभयो। उहाँले विद्युत्मा पहुँच नभएका ग्रामीण इलाकामा नवीकरणीय ऊर्जा उत्पादन गर्न केन्द्रलाई सुझाव दिनुभयो । 

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव सुरेश आचार्यले राष्ट्रिय प्रसारण लाइन नपुगेका क्षेत्रमा सौर्य प्यानलका माध्यमबाट ऊर्जा उत्पादन भएको जानकारी दिनुभयो ।