काठमाडौँ, कात्तिक १४ :

तिहार शुरु भएसँगै यतिखेर शहरका मुख्य  बजारमा किनमेल गर्नेहरुको घुइँचो लागेको छ।

काठमाडौँका मुख्य बजारहरु असन, इन्द्रचोक र न्युरोडमा त दिनभर किनमेल गर्नेहरुको भीडले खुट्टा हाल्ने ठाउँ नै हुँदैन । मानिसहरु सुनको पसलदेखि कपडाको पसलसम्म भ्याइनभ्याइ किनमेल गरिरहेका भेटिन्थे ।

तर खास किनमेल चाहिँ धन्तेरशमा सुन र चाँदीका सिक्का तथा भाँडाकुडा र भाइमसलाको नै थियो ।

बजारमा भाइ मसला महँगो भएर किनिसाध्य छैन । तर पनि तिहारको किनमेलमा भाइमसला अनिवार्य जस्तै भएकोले ऋण-धन गरेरै भएपनि काँठका वस्तीदेखि बजारकासम्मका मानिस असन र इन्द्रचोकमा भेटिन्थे ।

गतबर्षको भन्दा यो बर्ष भाइमसला महँगिएको ग्राहकहरुको अनुभव छ ।

त्यसो त हरेक बर्ष भाइ मसलाको भाउ बढेकै हुन्छ । यसको मुल दोष खुद्रा पसलेले होलसेल पसलेलाई दिन्छन र होलसेलले आयातकर्तालाई । भारतमै भाउ बढेको छ भन्ने उत्तर हरेक व्यापारीको छ ।

अनि व्यापारमा सन्तुष्टि व्यापारीलाई हुने त कुरै भएन । उनीहरु व्यापार राम्रो छैन भनिरहेका हुन्छन ।  

भाइमसलाको प्याकेटमा प्रयोग हुने हरेकजसो चिज भारतको उत्पादन हो । यही भाइमसलामा बर्षेनी अरबौँ नेपाली पैसा देश बाहिर जान्छ । तर यसको आयातलाई घटाएर उत्पादन बढाउनेतर्फ भने न निजी, न त सरकारी निकायहरुको नै ध्यान गएको देखिन्छ