
आँबुखैरेनी गाउँपालिका- १ याञ्चोकटारमा उत्पादित सयपत्री फूल कतार निर्यात भएको छ ।
पहिलो चरणमा ‘ए ग्रेड’ गरिएका एक सय ५० किलो सयपत्री दोहा पठाइएको हो ।
कृषि प्राविधिकले ग्रेडिङ गरेपछि फूल निर्यात गरिएको याञ्चोकटार महिलाहरुलाई फूल टिप्न व्यस्त छन् । समूहकी अध्यक्ष सुन्तली गुरुङसहित समूहमा आबद्ध ७० जना महिला माला गाँस्न व्यस्त हुनुहुन्छ ।
समूहले गतवर्षदेखि सयपत्री कतार निकासी गर्न थालेको हो। गतवर्ष दुई लाख पचास हजार बराबरको सयपत्री निकासी गरिएको जानकारी दिँदै अध्यक्ष गुरुङले यो वर्ष ८ लाख बराबरको फूल निर्यात गर्ने लक्ष्य रहेको बताउनुभयो ।
आँधीमूल महिला समूह र याञ्चोक महिला समूह एकआपसमा गाभिएर फूलखेती प्रारम्भ भएको हो । गाउँपालिकाले ८५ प्रतिशत अनुदानमा बीउ उपलब्ध गराए पछि महिलाहरू व्यावसायिक फूलखेतीतर्फ आकर्षित भएका आँबुखैरेनी गाउँपालिका कृषि शाखा प्रमुख सन्तोष केसीले जानकारी दिनुभयो ।
समूहले उत्पादन गरेका फूलको बजार व्यवस्थापनमा गाउँपालिका कार्यालयले सहजीकरण गर्दै आएको छ ।
आज र भोलि आँबुखैरेनी गाउँपालिकाभित्रका १२ स्थानमा बिक्री स्थल बनाइनेछ । महिला सशक्तीकरण पालिकाको प्राथमिकता भएको बताउँदै उहाँले केही माला तयार गरी कोल्डस्टोरमा राखिएको जानकारी दिनुभयो ।
फूलखेतीबाट समूहमा आबद्ध महिला आर्थिक रूपमा पनि सक्षम भएका छन् ।