काठमाण्डौँ , कात्तिक १५ :

गृह मन्त्रालयले चाडपर्वलाई शान्तिपूर्ण बनाउन आवश्यक सुरक्षा योजना लागू गरी उच्च सुरक्षा प्रदान गर्न निर्देशन गरेको छ । 

सुरक्षा समितिले आवश्यक निर्णय गरी शान्ति सुव्यवस्थाको काम अघि बढाएका छन् ।

नेपाल प्रहरीले तिहार तथा छठ पर्व लक्षित विशेष निगरानी पनि बढाइसकेको छ ।  नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले तिहार तथा छठ पर्व लक्षित विशेष निगरानी बढाइएको बताउनुभयो ।  

आगलागी, नाचगान, देउसीभैलो र जुवातासका कारण हुने हारजित र झैझगडा, मदिरा खाएर रातीमा होहल्ला गरेर समाजलाई नै प्रभावित पार्ने तथा आपराधिक घटना हुन सक्नेतर्फ मध्यनजर गरी सुरक्षामा उच्च निगरानी गरिएको उहाँले बताउनुभयो । 

देशैभरका जिल्लाका सुरक्षा समतिको बैठक बसेर जिल्लाको शान्तिसुरक्षाको अवस्थालाई मध्यनजर गर्दै देउसी भैलोको समय तोक्ने, हूल हुज्जत गर्ने समूहको निगरानी गर्ने,  मादक पदार्थ खाएर सवारीमा हिँड्ने हुनाले सडक जाँचलाई थप सुदृढ पारिएको प्रहरीले जनाएको छ ।

प्रवक्ता कार्कीले भन्नुभयो, “पटाका र पटाकाजन्य पदार्थ विस्फोटक पदार्थका रुपमा रहेकाले कसैले पड्कायो हामी पनि पड्काउँन त भन्ने हुनसक्छ, यो गतिविधि विस्फोटक पदार्थसम्बन्धी कसुरमा कारबाही हुन्छ । 

ओसारपसार भण्डारण बिक्री वितरण र प्रयोग सबैमा प्रतिबन्ध छ । तीन महिनादेखि १ वर्षसम्मको कैद सजायसम्म हुनसक्छ, क्षतिको क्षतिपूर्ति पनि भराइन्छ, त्यसैले यसमा भुलेर पनि कोही संलग्न हुनुहुँदैन ।”

अर्को सामाजिक सञ्जालमा उच्छृङ्खल कुराहरु राख्ने विषयमा पनि प्रहरीले अनुगमन बढाएको छ । 

उहाँका अनुसार तिहारमा प्राविधिक रुपमा निगरानी बढाइएको छ । भिडियो, साामाजिक सञ्जला, सिसिटिभी सहित सादा पोशाकमा प्रहरी परिचालन गरेर सुरक्षा निगरानी गरिरहेको पनि प्रहरीले जनाएको छ ।