काठमाण्डौँ , कात्तिक १५ :

जल तथा मौसम विज्ञान विभागले आज तिहार लक्षित विशेष मौसम बुलेटिन सार्वजनिक गर्दै भारी वर्षा एवं झरी नपर्ने बताएको छ । 

सार्वजनिक बुलेटिनअनुसार यस वर्ष तिहारको चतुर्दशी (१५ गते), औँसी (१६ गते), प्रतिपदा (१७ गते) र द्वितीया (१८ गते भाइटीका) का दिनहरूमा देशको कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू- भागमा आंशिकदेखि साधारणतया बदली रही थोरै स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहने उल्लेख छ । 

बुलेटिनमा बाँकी भू- भागमा मौसम मुख्यतया सफा रहने देखिएको विभागले जानकारी गराएको छ । बुलेटिनमा देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको जनाइएको छ ।

उक्त दिनहरूमा अधिकांश स्थानहरूमा अधिकतम तथा न्यूनतम तापक्रम घट्दो क्रममा रहने सम्भावना विभागले जनाएको छ । 

विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मीनकुमार अर्यालले बदली हुने बादलहरू लाग्ने देखिए पनि ठूलो झरीको सम्भावना भने नदेखिएको जानकारी दिनुभयो । 

मौसमविद् अर्यालका अनुसार ठूलो झरी नै पर्ने खालको अवस्था छैन । पानी कम पर्ने अवस्था रहेको अहिलेसम्मको मोडलले देखाएछ । 

उहाँले तीनदिने मौसम बुलेटिन दैनिक सार्वजनिक हुने भएकाले कुनै नयाँ अवस्था सिर्जना भएमा नियमित रुपमा सार्वजनिक हुने पनि जानकारी  दिनुभयो ।

विभागले मौसम पूर्वानुमान महाशाखाबाट जारी गरिने ३ दिने मौसम पूर्वानुमान बुलेटिनमा मौसमसम्बन्धी अद्यावधिक जानकारी हुने भएकाले महाशाखाको वेबसाइट हेर्न समेत अनुरोध गरेको छ ।