
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले तिहारमा धेरैभन्दा धेरै विद्युत खपत गर्न आग्रह गर्नुभएको छ ।
पर्याप्त विद्युत भएकाले तिहारमा जतिसक्दो बढी विद्युत प्रयोग गर्दा पनि हुने उहाँले बताउनुभएको हो । कुनै प्राविधिक समस्याबाहेक लक्ष्मी पूजामा बत्ती नजाने पनि उहाँको भनाइ छ।
यो वर्षको तिहारमा मुलुकभित्र पुग्ने विद्युत उत्पादन रहेको भन्दै तिहारको लागि विद्युत आयात गर्नुपर्ने अवस्था नरहेको उहाले जानकारी दिनुभयो।
सकेसम्म तिहारमा विद्युत पुर्याएर निर्यात समेत गर्न पुग्ने विद्युत प्राधिकरणसँग रहेको उहाँले बताउनुभयो।
असोज दोस्रो साता आएको बाढीले ४५६ मेगावाटको माथिल्लो तामाकोशी सहित जलविद्युत आयोजनामा ठूलो क्षति पुगेको पनि उहाँले बताउनुभयो ।
बाढी पहिरोको कारणले प्राधिकरण र निजी क्षेत्र दुवैमा क्षति पुगेको भन्दै तामाकोसी ४६५ मेगावाट अहिले पनि आउट रहेको उहाँको भनाइ छ।
प्रशारणलाइन बगाएको हुनाले काबेली करिडोरको करिब २ सय मेगावटको आयोजना आउट छन्। करिब ७ सय मेगावटका जलविद्युत प्रणालीभन्दा बाहिर छन्। एक महिना भन्दा बढी भयो उत्पादन भएको छैन ।
अधिकांश जलविद्युत आयोजना नदी प्रवाहमा आधारित रहेका कारण हिउँदमा भने आयात गरेर व्यवस्थापन गर्नुपर्ने अवस्था रहेको उहाँको भनाइ छ।
अहिले पनि २१ सय मेगावाट विद्युत उत्पादन भए पनि घटेर १९ सयमा झरेको उहाँले जानकारी दिनुभयो।
यो वर्ष बाढी पहिरोका कारण जलविद्युत आयोजनाहरूमा क्षति पुगेका कारण हिउँदमा थप विद्युत आयात गर्नुपर्ने अवस्था रहेको उहाँले बताउनुभयो।