बागलुङ, कात्तिक १६ :

तिहारको समयमा पछिल्लो समय झिनियाँ रोटीसँगै अन्य तयारी रोटीको खरिद बिक्री हुन थालेको छ ।

तिहारमा बढी प्रयोगमा आउने परिकारका रुपमा मानिएको झिनियाँ र चिनी रोटी सहित विभिन्न रोटीका परिकारको माग उच्च रहेको छ । 

झिनियाँसहित विभिन्न तयारी रोटी उत्पादन हुन थालेपछी यसअघि घरमा बनाउने रोटीका परिकारसमेत स्थानीयले खरिद गरेर लैजान थालेका छन् ।

अहिले तिहार सुरु भएसँगै बागलुङ बजारका विभिन्न महिला उद्यमीले उत्पादन गरेका रोटीका परिकार खरिद गर्नेको घुइँचो लाग्ने गरेको हो । 

बागलुङ नगरपालिका- २ स्थित मरेपिपलमा झिनियाँसहित सात प्रकारका परिकार बनाउँदै आउनुभएकी मिरा श्रेष्ठले तिहार सुरु भएसँगै झिनियाँ, चिनी, फिनी, भेलीलगायत परिकारको माग उच्च भएको बताउनुभयो । 

एघार वर्षदेखि व्यावसायिक रुपमा रोटीका परिकार बनाएर बिक्री गर्दै आउनुभएकी उहाँले अन्य समयमा भन्दा तिहारमा बढी बिक्री हुने उल्लेख गर्नुभयो । हिन्दू धर्मावलम्बीको दोस्रो ठूलो पर्व तिहारका अवसरमा बढी प्रयोग हुने झिनियाँ बनाउन यहाँका महिला उद्यमीलाई भ्याइनभ्याइ छ । 

तिहारको समयमा झिनियाँको माग बढ्न थालेपछि श्रेष्ठसहित यहाँका अन्य घरेलु उद्यमी महिलालाई झिनियाँ बनाउन भ्याइनभ्याइ भएको छ । 

महिला उद्यमी श्रेष्ठले यस पटक सेतो झिनियाँ बजारमा ल्याएको बताउँदै रङ्ग मिसाएका परिकार बिक्री गर्न पालिकाले रोक लगाएपछि रङ्ग मिसाउन बन्द गरिएको उहाँले उल्लेख गर्नुभयो ।