
वातावरणविद्हरूले उज्यालोको पर्वका रुपमा रहेको तिहार (दीपावली) मा पटका पट्काउँदा वातावरणमा वायु र ध्वनि प्रदूषण हुने बताएका छन्।
पटका पट्काउँदा विभिन्न रासायनिक पदार्थहरू जस्तै सल्फरडाइ अक्साइड, नाइट्रोजन अक्साइड, कार्बन मोनोअक्साइड तथा धुलोका कणहरू वायुमण्डलमा फैलने र प्रदूषण बढाउने भन्दै सतर्कता अपनाउन आग्रह गरेका हुन् ।
वातावरणविद् भूषण तुला धारले पटका जस्ता विषाक्त ग्यासहरूले हावा प्रदूषित बनाउने र यसले श्वासप्रश्वाससम्बन्धी समस्या उत्पन्न गर्ने भन्दै पटका पड्काउन नहुने बताउनुभयो ।
दीपावालीमा धेरैजसो बालबालिका पटका पट्काउन संलग्न हुने र नजिक बस्ने भएकाले उनीहरूको स्वास्थ्यमा नकारात्मक असर गर्ने उहाँले बताउनुभयो ।
पटका पट्काउँदा आउने ठूलो आवाजले जनावरहरूमा तनाव पैदा गर्नाका साथै मानिसहरूको मानसिक स्वास्थ्यमा पनि असर पुर्याउने उहाँको भनाइ छ ।
जलवायु परिवर्तनविद् मञ्जित ढकालले पटका पटकाउँदा निस्कने आवाजले ध्वनि र धुवाँले वायु प्रदूषण बढ्ने भएकाले बढी सतर्कता अपनाउनाका साथै सरोकार भएका निकायले पटका पट्काउन नियन्त्रण गर्नुपर्नेमा जोड दिनुभयो ।
जलवायु परिवर्तनविद् ढकालले पटकामा हानिकारक रसायनहरू हुने भएकाले माटो र पानी प्रदूषित बनाउने, वातावरणको सन्तुलन बिगार्ने भन्दै पर्यावरणमैत्री दियो बालेर शान्त रूपमा पर्व मनाउन सकिने बताउनुभयो ।