सुनसरी, कात्तिक १७ :

फेसने सहरका रूपमा चिनिने धरान सांस्कृतिक पर्व तिहारमा धपक्क बलेको छ ।

तिहार सुरु भएसँगै चारैतिर झिलीमिली देखिएको छ । किनमेल गर्न सर्वसाधारणको घुइँचो लागेको छ । झिलीमिली बत्ती, मीठाइ मसला र फूलहरूले पूरै बजार ढाकेको छ ।

दसैँपछि नेपालीहरूको दोस्रो ठूलो पर्व भनेर चिनिने तिहारलाई साङ्गीतिक चाडका रूपमा फूलमाला, रङ र उज्यालो पर्वका रूपमा लिइन्छ । तिहारमा दियो, बत्ती बालेर घरलाई झिलीमिली पारिन्छ । फूलको मालाले घर सिङ्गरिने चलन पनि उत्तिकै बढ्दो छ । 

पछिल्लो समय परम्परागत दियो बाल्ने चलन हिजोआज लोप हुँदै गएकाले आधुनिक झिलीमिली बत्तीले निकै ठाउँ पाएको व्यापारी नारद यादवले बताउनुभयो ।

तिहारमा विभिन्न किसिमका झिलीमिली बत्तीको व्यापार फस्टाएको यादवले बताउनुभयो । धरानको मुख्य बजार भानुचोक सब्जी मन्दिरलगायत ठाउँमा यतिबेला बत्ती, फूलमाला लगायत सामान किन्ने र बेच्नेको भ्याइनभ्याई छ ।

तिहारका लागि आवश्यक विभिन्न सामग्री खरिद र बिक्री गर्ने सर्वसाधारणको घुइँचो यतिबेला हरेक बजारमा देखिन्छ ।