काठमाण्डौँ , कात्तिक १९ :

आज यमपञ्चकको अन्तिम दिन अर्थात भाइटीका । भाइटीका लगाउँदा कुन दिशातर्फ फर्केर टीका लगाइदिने भन्ने सबैको चासोको विषय बनेको हुन्छ ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य प्रा श्रीकृष्ण अधिकारीले यस वर्ष भाइटीका लगाइदिने पूर्व र लगाइमाग्ने पश्चिम फर्कनुपर्ने बताउनुभयो ।

यसो गरेमा वृश्चिक राशिमा रहेका उत्तरका चन्द्रमा दाहिने पर्नेछन् । शुभ कर्ममा चन्द्रमालाई अघि वा दाहिने पार्नुपर्ने शास्त्रीय नियम रहेको उहाँले बताउनुभयो।

नेपाली समाजमा कात्तिक शुक्ल द्वितीयामा दिदीबहिनीले दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै सप्तरङ्गी टीका लगाइदिने चलन छ  ।

पञ्चाङ्ग निर्णायक समितिका अनुसार आज भाइटीकाको उत्तम साइत बिहान ११ बजेर ३७ मिनेटमा छ । दिनभर लगाउन मिल्छ ।

तर राज्य सञ्चालकले भने साइतमै टीका लगाउनुपर्ने समितिले जनाएको छ । 

तिहारमा सप्तरङ्गी टीका लगाउने भनी प्रचारप्रसार गरिए पनि शास्त्रीय मान्यता भने तिहारमा लगाउने टीकाको रङ्ग रातो, सेतो, पहेँलो, हरियो र नीलो गरी पाँचवटा उल्लेख गरिएको धर्मशास्त्रविद् समितिका अध्यक्ष अधिकारीले बताउनुभयो ।

टीका लगाइदिएपछि दिदीबहिनीले दाजुभाइलाई ओखर, कटुस, मरमसला एवम् सेलरोटी लगायत खानेकुरा दिने र दाजुभाइले पनि दिदीबहिनीलाई गच्छेअनुसार सौभाग्यका प्रतीक कपडा र दक्षिणा दिई सम्मान प्रकट गर्ने परम्परा रहेको छ ।