काठमाण्डौँ , कात्तिक २३ :

दिगो शान्ति र विश्वकल्याणको कामना गर्दै ‘अतिरुद्र विश्वकल्याण विराट महायज्ञ- २०८१’ आजदेखि सुरु भएको छ । 

नेपाल महर्षि वैदिक फाउन्डेसनद्वारा आयोजित महायज्ञ नेपाली कर्ताकै सहयोगबाट भृकुटीमण्डपमा सञ्चालन भइरहेको छ । 

महायज्ञ भावातित ध्यान एवं सिद्धि साधक एक हजार एक सय ११ आचार्य तथा बटुक पण्डितबाट सुरु भएको हो । यसरी नेपालमा पहिलो अतिरुद्र विश्वकल्याण विराट महायज्ञ आयोजना गरिएको फाउन्डेसनका अध्यक्ष दीपकप्रकाश बाँस्कोटाले जानकारी दिनुभयो ।

यज्ञ र योगलाई संसारभरमा शान्ति स्थापना गर्ने माध्यमका रूपमा अगाडि सारिएको छ । यसबाट नेपाल सहित विश्वभर शान्ति, सद्भाव र भ्रातृत्व अभिवृद्धिमा मद्दत पुग्ने अपेक्षा गरिएको उहाँले बताउनुभयो ।

फाउन्डेसनले वि. सं २०७० देखि देशभरका करिब १०० वैदिक गुरुकुलमा भावातित ध्यान एवं सिद्धि साधनासहित यज्ञ गर्दै आइरहेको छ । 

महर्षि महेश योगी नेपाल आगमनको स्वर्णमहोत्सव उद्घाटन तथा नेपालका मौलिक सांस्कृतिक झाँकी तथा एक सय आठ शङ्खघण्टसहित बुधबार शोभायात्रा गरिएको थियो ।  

विज्ञान महासम्मेलन हुने

महायज्ञकै दौरानमा तीन दिने वैदिक विज्ञान तथा आधुनिक विज्ञान दोस्रो महासम्मेलन सुरु हुँदैछ । महासम्मेलनमा युरोप अमेरिकालगायत देशबाट ७० भन्दा बढी विज्ञ एवं प्रतिनिधिहरूको सहभागिता रहने आयोजकले जनाएको छ ।

भृकुटीमण्डपमा बुधबारदेखि २५ गतेसम्म आठौँ प्राङ्गारिक कृषि मेला तथा प्रदर्शनीसमेत आयोजना गरिएको छ । मेलामा ५० अग्र्यानिक तथा प्राकृतिक उत्पादनका कक्ष राखिएको छ ।