काठमाण्डौँ , कात्तिक २४ :

अन्तर्राष्ट्रिय विमान कम्पनीको हवाई भाडावृद्धि भएको विषयमा अन्तरमन्त्रालय छलफल भएको छ ।

संस्कृति पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्रीप्रसाद पाण्डेले आज परराष्ट्रमन्त्री डा आरजु राणा देउवा र श्रम तथा रोजगारमन्त्री सरदसिंह भण्डारीसँग छलफल गर्नुभएको हो ।

हवाई भाडावृद्धिका कारण वैदेशिक रोजगारीमा जाने श्रमिकहरु मर्कामा परेकोलगायतका विषयमा पर्यटनमन्त्री पाण्डेले परराष्ट्रमन्त्री, श्रम तथा रोजगारमन्त्रीसहित  वैदेशिक रोजगार सम्बद्ध संस्थाका प्रतिनिधिसँग हवाई भाडावृद्धिबारे छलफल गर्नुभएको हो ।

त्यस अवसरमा वैदेशिक रोजगारीमा जानेका लागि नयाँ दिल्लीस्थित विमानस्थल प्रयोग गर्न यसअघि लगाइएको रोक खुला गर्ने तथा भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा थप उडानका लागि सहजीकरण गर्ने लगायतका विषयमा छलफल भएको पर्यटन मन्त्रालयले जनाएको छ ।

छलफलका क्रममा परराष्ट्रमन्त्री आरजु राणा देउवाले हवाईभाडा वृद्धि नियन्त्रणका लागि आफूले पहल गर्ने बताउनुभयो । उहाँले अन्तरमन्त्रालय बैठक बसेर समस्या समाधान गर्ने उल्लेख गर्दै तत्काललाई यात्रुहरुलाई मध्यनजर गर्दै दिल्लीबाट उडान भर्नका लागि दूतावास मार्फत पहलका लागि अनुरोध गरिने जानकारी गराउनुभएको थियो ।

श्रम तथा रोजगार तथा समाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले यस अघि भारतको नयाँ दिल्लीबाट नेपालीहरु श्रमगन्तव्यमा जाने गरेको भए पनि म्यानपावर व्यवसायीहरुकै आग्रहमा मानव तस्करी बढेको गुनासोपछि रोक लगाएको बताउनुभयो ।

मन्त्री भण्डारीले भैरहवा र पोखरा विमानस्थलबाट हवाई उडान भर्न आग्रह गर्नुभयो । हवाई टिकटमा भएको मूल्यवृद्धिका कारण नेपाल आउने पर्यटक समेत मर्कामा परेको भन्दै मन्त्री भण्डारीले सिन्डिकेट र कार्टेलिङ भएको भए त्यसलाई रोक्नुपर्नेमा जोड दिनुभयो ।

पर्यटनमन्त्री पाण्डेले हाल त्रिभुवन विमानस्थलको धावनमार्ग विस्तारका लागि रातिको समयमा हुने उडान समय घटाएको विषयलाई लिएर हवाई टिकटमा वृद्धि भएको हुनसक्ने उल्लेख गर्नुभयो ।

छलफलका क्रममा विमानस्थलको ट्याक्सी वे विस्तारका लागि रातिको समय विमानस्थल बन्द भएको बहानामा केही विमान कम्पनीले कार्टेलिङ गरेको हुनसक्ने उल्लेख गर्दै वैदैशिक रोजगारसँग सम्बद्ध व्यवसायीहरुले यस विषयमा सरकारले आवश्यक निर्णय गर्नुपर्नेमा जोड दिएका थिए ।