
राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विभूति फाल्गुनन्दले देखाउनुभएको बाटोमा हिँड्न सकेमा राष्ट्रिय एकतालाई सुदृढ एवं सबल बनाउन सकिने विश्वास व्यक्त गर्नुभएको छ ।
किराँत धर्मावलम्बीका महागुरु फाल्गुनन्द लिङ्देनको एक सय ४० औँ जन्मजयन्तीका अवसरमा आज शुभकामना दिँदै राष्ट्रपति पौडेलले सामाजिक रूढीवादी परम्पराको अन्त्य गर्दै समाजलाई सही बाटो देखाउँदै आर्थिक अनुशासन कायम गर्न उहाँले दिनुभएको मार्गनिर्देश अनुशरण योग्य रहेको बताउनुभएको छ ।
सामाजिक चेतना फैलाउने महागुरु फाल्गुनन्दले धार्मिक गुरु मात्र नभई सामाजिक अभियन्ताका रूपमा समाज सुधारक भई कार्यसमेत गर्नुभएको उहाँले स्मरण गर्नुभएको छ ।
राष्ट्रपति पौडेलले फाल्गुनन्द जयन्तीले सबैमा सहिष्णुता, सद्, अहिंसा एवं समाज सुधारको महान् अभियानमा लाग्ने प्रेरणा मिलोस् भनी कामना गर्नुभएको छ ।