
जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप- २९)मा सहभागी हुने सिलसिलामा बाकुमा रहनुभएका राष्ट्रपति रामचन्द्र पौडेलले आज नेपालका तर्फबाट एउटा उच्चस्तरीय सत्र सञ्चालन गर्दै हुनुहुन्छ ।
‘पर्वतीय क्षेत्रमा जलवायुजन्य नोक्सानीको सम्बोधन’ विषयमा हुने सत्रमा नेपालले आफ्ना ‘एजेण्डा’ माथि विश्व समुदायको ध्यानाकर्षण गराउनेछ ।
कोप शिखर सम्मेलनमा मङ्गलबार नेपालका तर्फबाट राष्ट्रिय मन्तव्य व्यक्त गर्दै राष्ट्रपति पौडेलले हिमालको सुरक्षा भनेकै पृथ्वीको सुरक्षा हो भन्ने वास्तविकता मनन गर्न विश्व समुदायलाई आह्वान गर्नुभएको थियो ।
पर्वतीय मुलुकका सेता हिमाल काला पहाडमा परिणत हुने क्रमले ती मुलुकमा मात्र होइन तल्लो तटीय मुलुकहरूलाई सङ्कटमा पुर्याउँछ भन्ने वास्तविकता विश्वले बिर्सन नहुँने राष्ट्रपति पौडेलले बताउनुभयो ।
माल्दिभ्सका राष्ट्रपति डा मोहम्मद मैज्जुसँग मङ्गलबार भएको भेटवार्तामा राष्ट्रपति पौडेलले जलवायु परिवर्तनको मारमा नेपाल र माल्दिभ्स जस्ता देश परेकाले जलवायु वार्ताहरूमा सहकार्य गर्नुपर्ने बताउनुभएको थियो ।
यसपटक नेपाल ‘विश्व नेताहरू जलवायु कार्य शिखर सम्मेलन’ मा राष्ट्रपति पौडेलको नेतृत्वमा सहभागी भएको छ ।
सम्मेलनमा ४० देशका राष्ट्रपति वा उपराष्ट्रपति तथा ३५ देशका प्रधानमन्त्रीसहित विश्वका अधिकांश मुलुकका जलवायु परिवर्तनका क्षेत्रमा कार्यरत प्रभावशाली नेताहरू छलफल र विश्वव्यापी सहकार्यका लागि सहभागी हुनुहुन्छ ।