काठमाण्डौँ , मंसिर ३ :

गृहमन्त्री रमेश लेखकसँग भारतीय सशस्त्र सीमा सुरक्षा बल (एसएसबी) का महानिर्देशक अमृतमोहन प्रसाद सहितको उच्चस्तरीय टोलीले भेटवार्ता गरेको छ ।
      
सिंहदरबारस्थित गृहमन्त्रालयमा भएको भेटवार्तामा सशस्त्र प्रहरी बल नेपाल र भारतीय सीमा सुरक्षा बल (एसएसबी) का बीच दुई देशको सीमा सुरक्षाका क्षेत्रमा सौहार्दपूर्ण वातावरणमा भइरहेको कामका विषयमा छलफल भएको थियो ।
      
भेटवार्ताका क्रममा गृहमन्त्री लेखकले सीमा क्षेत्रमा हुने लागु औषधको अवैध कारोबार र ओसारपसार तथा मानव बेचबिखन नियन्त्रणका साथै आपराधिक गतिविधि नियन्त्रणमा सहयोग र सहकार्य गर्न जोड दिनुभयो ।

गृहमन्त्री लेखकले जनताले कष्ट नपाउनेगरी सौहार्द्रपूर्ण वातावरणमा शान्तिसुरक्षा र अपराध नियन्त्रणतर्फ दुवैतर्फको ध्यान जानुपर्नेमा जोड दिँदै नेपाल- भारत सीमा नाकामा ओहोरदोहोर गर्ने नागरिकहरुलाई मर्यादित व्यवहार गर्न सम्बद्ध अधिकारीहरूलाई निर्देशन दिनुभयो ।
 
“नेपाल- भारतबीच सदियौँ पुरानो सम्बन्ध रहिआएको छ”, गृहमन्त्री लेखकले भन्नुभयो, “सीमासुरक्षा बलका काम कारबाहीले दुई देशबीचको सम्बन्ध थप बलियो हुनेमा विश्वस्त छु, सहयोग र सहकार्य गरी सीमा क्षेत्रमा हुने अपराध नियन्त्रण सहित सीमा आवतजावतका क्रममा सम्मानजनक व्यवहार गरी दुवै देशका जनताको विश्वास जितौँ ।”
 
सशस्त्र प्रहरी बल नेपाल र भारतीय सशस्त्र सीमा बलबीच हरेक वर्ष हुने समन्वय बैठकमा भाग लिन महानिर्देशक प्रसादको नेतृत्वमा एसएसबीको उच्चस्तरीय टोली काठमाडौँ आएको हो ।