पाल्पा, मंसिर १० :

कालीगण्डकी नदीको बढ्दो कटानले जगमा भ्वाङ पर्दै जान थालेपछि ऐतिहासिक रानीमहल दरबार जोखिममा पर्दै गएको छ ।

जोखिममा पर्दै गएपनि दरबारको संरक्षणमा तीन तहकै सरकार देखि पुरातत्व विभागले समेत चासो देखाएको भने देखिदैन ।

करिब १ सय ३१ वर्ष अघि वि.सं १९५० सालमा पाल्पा गौडाका तैनाथवाला प्रधान सेनापति खड्ग शमशेरले आफ्नी दिवंगत रानी तेजकुमारीको सम्झनामा निर्माण गरेको रानीमहल पछिल्लो समय बढ्दो नदि कटानले जोखिममा पर्दै जान थालेको छ । 

दरबारको तत्काल संरक्षण नगरिए रानीमहल भासिने देखिन्छ ।

अहिले नै कालिगण्डी नदिले जग कटान गर्दा रानीमहलको छेउतर्फको भाग भासिएको छ ।

जनताको तटबन्ध कार्यालय रुपन्देहीका प्रमुख शम्भुराज पण्डित, पाल्पा क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य ठाकुर प्रसाद गैरे र इन्जिनियरको संयुक्त टोलिले गरेको अनुगमनको क्रममा रानीमहलको जग कटानमा परेको निष्कर्ष निकालेको हो । 

तीन वर्षअघि गोताखोरको टोलीले जगमा भ्वाङ परेको बताएको थियो ।