काठमाण्डौँ , मंसिर ११ :

यही मङ्सिर १२ देखि १५ गतेसम्म काठमाडौँमा जनसङ्ख्या र विकाससम्बन्धी छैटौँ अन्तर्राष्ट्रिय सम्मेलन हुँदैछ ।

जनसङ्ख्या र विकासलाई सन्तुलित ढङ्गले सँगसँगै लैजान आवश्यक नीतिगत व्यवस्थाका लागि साझा अवधारणा तयार गर्ने ध्येयका साथ सम्मेलनको आयोजना गरिन लागेको हो ।

त्रिभुवन विश्वविद्यालय, जनसङ्ख्या अध्ययन केन्द्रीय विभागको आयोजनामा हुने सम्मेलनमा चीन, अमेरिका, युरोप, अष्ट्रेलिया, दक्षिणपूर्वी एसिया र एसियाली क्षेत्रका ३५ भन्दा बढी मुलुकका पाँच सयभन्दा बढी जनसङ्ख्या र विकास क्षेत्रका प्राध्यापक, नीति निर्माता, अनुसन्धानकर्ता, विद्यार्थी र विषयविज्ञको सहभागिता रहनेछ ।

सम्मेलनको उद्‌घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने कार्यक्रम रहेको छ । 

सम्मेलनमा विभिन्न १७ वटा विषय र क्षेत्रमा केन्द्रित रहेर छलफल हुनेछन् । पछिल्लो समय जन्मदर घटिरहेको सन्दर्भमा जनसङ्ख्याको व्यवस्थापन कसरी गर्ने भन्नेबारे विशेष छलफल हुने विभागका सहप्राध्यापक एवं नेपाल जनसङ्ख्या सङ्घका अध्यक्ष डा पदम खतिवडाले बताउनुभयो ।

सम्मेलनमा नेपालका तर्फबाट प्रजननदर, जन्मदर र बसाइँसराइ लगायत जनसाङ्ख्यिक परिवर्तनका बारेमा विशेष प्रस्तुति रहनेछ । पार्किन्सन लगायत नसर्ने रोगका विषयमा पनि सम्मेलनमा छलफल हुने कार्यसूची छ । 

नेपालमा लैङ्गिक समानता, समावेशिता र सामाजिक सुरक्षा लगायत संवैधानिक  हकको कार्यान्वयन अवस्थाका बारेमा पनि छलफल हुनेछ । 

सम्मेलनमा विकास र जनसङ्ख्याका क्षेत्रमा नेपालले हासिल गरेका उपलब्धि, भोग्नु परेका चुनौती र त्यसको समाधानका लागि अन्तर्राष्ट्रिय अनुभव आदानप्रदान हुनेछ । जनसङ्ख्या र विकासका क्षेत्रमा कसरी परिवर्तन हुँदै आइरहेको भन्नेमा छलफल हुने सङ्घका अध्यक्ष डा खतिवडाले बताउनुभयो । 

एसिया प्यासेफिक क्षेत्रमा भएका जनसाङ्ख्यिक परिवर्तन, बसाइँसराइ र औसत आयु बढ्दा परेको पारिवारिक असर र प्रभाव तथा विकास नीति, योजनाले परिवर्तित जनसङ्ख्याको लाभ लिने र धान्ने बारेमा छलफल केन्द्रित हुने आयोजकले जनाएको छ ।