
काठमाण्डौँ , मंसिर १५ :
भारतीय नम्बरबाट फोन तथा म्यासेज पठाएर व्यवसायीलाई आतङ्कित पारी आपराधिक लाभ लिन खोज्ने एक जना पक्राउ परेका छन् ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले ‘भारतीय आपराधिक समूह’ को सदस्य भएको भनी व्यवसायीलाई धम्क्याउने झापाको मेचीनगर नगरपालिका- १३ चारआली बस्ने ३६ वर्षीय नवीन प्रधान भन्ने हरिचन्द्र फुँयाललाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।
मेडिकल व्यवसायी दुर्गाप्रसाद प्रसाईंको निर्देशनमा उनले भारतीय आपराधिक समूहको नामबाट व्यवसायीलाई धम्की दिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिनुभयो ।
फुँयाल यसभन्दा अगाडि समेत विभिन्न कसुरमा संलग्न भई फरार रहेको समेत खुल्न आएको उहाँले बताउनुभयो ।
प्रहरीले उनको साथबाट दुई थान मोबाइल समेत बरामद गरेको छ ।