काठमाण्डौं, मंसिर १५ :

गृह मन्त्रालयले सामाजिक सञ्जालको गलत प्रयोग गरी द्वेषपूर्ण एवं भ्रामक अभिव्यक्ति दिनेलाई कानुनी कारबाही हुने स्पष्ट पारेको छ ।

मन्त्रालयले आज विज्ञप्ति जारी गरी सामाजिक सद्भाव र मर्यादामा आँच पुर्‍याउनुका साथै सार्वजनिक शान्ति सुव्यवस्थामा नै खलल पुर्‍याउनेलाई कानुनी दायरामा ल्याइने जनाएको हो ।

पछिल्लो समयमा केही व्यक्तिले सामाजिक सञ्जाल लगायत माध्यमको गलत प्रयोग गरी कानुनले निषेध गरेका द्वेषपूर्ण एवं भ्रामक अभिव्यक्तिप्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ ।

मन्त्रालयले विभिन्न जातजाति,धर्म सम्प्रदायबीचको सुसम्बन्धमा खलल पार्ने,गाली बेइज्जत गर्ने,अपराध गर्न दुरुत्साहन गर्ने एवं सार्वजनिक शिष्टाचार वा नैतिकताको प्रतिकूल हुने जस्ता घृणाजन्य अभिव्यक्ति दण्डनीय अपराधको रुपमा व्यवस्था गरेको स्पष्ट पारेको छ ।