काठमाण्डौं, मंसिर १५ :

चीन भ्रमणमा रहेकी परराष्ट्रमन्त्री आरजु राणा देउवा र  चिनियाँ विदेशमन्त्री वाङ यीबीच भेटवार्ता भएको छ ।

भेटका क्रममा उहाँहरुबीच नेपाल चीन सम्बन्धका विविध पक्ष, आपसी हित र साझा चासोका साथै प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमण र त्यस अवसरमा हुने दुई देशबीचको सहयोग आदानप्रदानका विषयमा कुराकानी भएको थियो ।

सो भेटवार्ताका क्रममा परराष्ट्रमन्त्री डा राणाले चिनियाँ विदेशमन्त्री वाङ यीलाई नेपाल भ्रमणका लागि निमन्त्रणा पनि दिनुभएको थियो । 

वार्ताका क्रममा चीनको ७५ औँ स्थापना दिवस र आगामी बर्ष  नेपाल चीन कूटनीतिक सम्बन्ध स्थापनाको ७० औँ वार्षिकोत्सवका अवसरमा विदेशमन्त्री वाङमार्फत् चीन सरकार र चिनियाँ नागरिकलाई मन्त्री डा राणाले बधाई ज्ञापन गर्नुभएको थियो ।  

मन्त्री डा राणाले पछिल्लो समय नेपाल चीन सम्बन्धमा उल्लेखनीय उपलब्धिहरू हासिल भएका र यसका कारण सम्बन्ध थप बलियो बन्दै गएको बताउँदै चीन सरकारले चीन भ्रमण गर्ने नेपाली नागरिकहरूलाई हालै भिसा शुल्क नलाग्ने घोषणा गरेकोमा चीन सरकारलाई धन्यवाद दिनुभयो । आज चीनको छेङ्दुमा उहाहरूबीच भेटवार्ता भएको परराष्ट्रमन्त्रीको सचिवालयले जनाएको छ ।

उहाहरुबीच भेटवार्ता भएको परराष्ट्रमन्त्री डा राणाले आफ्नो फेसबुक मार्फत पनि जानकारी गराउनुभएको छ । विदेशमन्त्री वाङको निम्तोमा छेङ्दु पुग्नुभएकी  राणाले दुइपक्षीय प्रतिनिधिमन्डलसहित भेटवार्ता गर्नुभएको हो । भेटवार्ताका क्रममा नेपाल र चीन दुवै देशका विदेश मन्त्रालयका अधिकारीको सहभागिता रहेको थियो ।

सो वार्तामा मन्त्री डा राणाको नेतृत्वमा चीनका लागि नेपाली राजदूत डा कृष्णप्रसाद ओली, चीनको छन्दुस्थित नेपाली महावाणिज्यदूत र परराष्ट्र मन्त्रालयका अधिकारीहरु सहभागी हुनुहुन्थ्यो । 

उहाँले आज बिहान छेङ्दुस्थित नेपालको महावाणिज्य दूतावासको भ्रमण गर्नुका साथै दूतावासका कर्मचारीहरूसँग अन्तरक्रिया गर्नुभएको छ ।

यसैबीच आजै साँझ चिनियाँ विदेशमन्त्री वाङले मन्त्री डा राणा र नेपाली प्रतिनिधिमण्डलको सम्मानमा रात्रिभोजको आयोजना गर्नुभएको थियो ।

सो भोजमा सहभागी हुँदै मन्त्री डा राणाले प्रधानमन्त्री ओली र आफूलाई चीन भ्रमणको निमन्त्रणा गरेकामा चीन सरकार र चिनियाँ जनतालाई धन्यवाद दिनुभयो । त्यस अवसरमा उहाँले दुई देशबीच सरकारस्तरमा मात्र नभएर जनता जनताबीच धेरै पुरानो र सुमधुर सम्बन्ध रही आएको चर्चा गर्नुभयो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणको तयारी स्वरुप उहाँ हिजो चीन जानुभएको हो ।

परराष्ट्रमन्त्री राणा भोलि स्वदेश फर्कने कार्यक्रम छ । उहा आगामी सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग पुनः चीन जानुहुनेछ ।