
पशुपति क्षेत्रमा दिवङ्गत पितृका नाममा शतबीज छरिएको छ । प्रत्येक दिन मार्ग शीर्ष कृष्ण चतुर्दशीका दिनमा पशुपति क्षेत्रका १४ स्थानमा शतबीज छरिएको हो ।
पशुपतिनाथको मूल मन्दिर,वाग्मती,भष्मेश्वर महादेव,आर्यघाट,रुद्रगाडेश्वर,भागलभुगल महादेव,किरातेश्वर,गौरीघाट,गुह्येश्वरी,नमोबुद्ध,बहिरो गणेश,विश्वरुप,मृगस्थली हुँदै भागलभुगल महादेव नजिकैका क्षेत्रमा आज बिहानैदेखि दिवङ्गत पितृका नाममा शतबीज छर्ने भक्तजनको घुइँचो लागेको थियो ।
शुक्रबार बेलुकीदेखि पशुपति क्षेत्रमा महादीपदान गरी बसेका भक्तजनले आज बिहानैदेखि शतबीज छर्ने र समापन गरिने पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।
शुक्रबार रातभर बत्ती बालेर बसेका भक्तजनले मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन बिहान भने दिवङ्गत पितृको सद्गतिको कामना गर्दै शतबीज छर्छन् ।
त्रयोदशीको बेलुकीदेखि दिवङ्गत पितृका नाममा अखण्ड दीपदान गरी बसेका भक्तजनले बिहानै वाग्मती नदीमा दीप सेलाएर चतुर्दशीको बिहान पितृको सद्गतिको कामना गर्दै शतबीज छर्छन् ।
यस अवसरमा पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवमन्दिरमा भक्तजनको भीड लागेको जनाइएको छ ।
देवघाट, तनहुँ
प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन बालाचतुर्दशी पर्व मनाउन देशका विभिन्न स्थानबाट भक्तजन पशुपतिमा आउँछन् । यसरी आएका श्रद्धालु भक्तजनको शुक्रबार बिहानैदेखि पशुपति क्षेत्रमा भीड लागेको थियो । बत्ती बाल्न बस्ने ठाउँ रोक्न बिहानैदेखि देशका विभिन्न स्थानबाट आएका भक्तजनको पशुपतिमा भीड लाग्ने गरेको हो ।
जाडोको मौसम भएकाले पाललगायत व्यवस्था गरिएको कोषले जनाएको छ । बालाचतुर्दशीको पशुपतिनाथ मेला समापन गर्न पशुपति क्षेत्रमा बिहीबार बिहानैदेखि सुरक्षाकर्मीलगायतको बाक्लो उपस्थिति छ ।
आफ्नो परिवारभित्रका दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै पशुपति क्षेत्रमा शतबीज छर्ने गरिन्छ । बालाचतुर्दशीको पूर्वसन्ध्या मार्गशीर्ष कृष्ण त्रयोदशीको शुक्रबार राति भक्तजनले पशुपतिनाथको मन्दिर वरपर बसी दिवङ्गत आत्माका नाममा महादीप बाली भजनकीर्तन र लोक झाँकी प्रस्तुत गरी रात बिताएका छन् ।