
सङ्घीय संसद् अन्तर्गत तीनवटा समितिको बैठक बस्दैछन् ।
आज अर्थ समिति, राज्य व्यवस्था तथा सुशासन समिति र शिक्षा, स्वास्थ्य तथा सूचना समितिको बैठक बस्न लागेको हो ।
अर्थ समितिको बैठक बिहान ११ बजे सिंहदरबारस्थित अर्थ समितिको बैठक कक्षमा बस्नेछ । बैठकमा समितिमा प्राप्त विधेयकहरू माथिको कार्यवाहीको लागि प्राथमिकता र कार्ययोजना सम्बन्धमा अर्थमन्त्री सहितको उपस्थितिमा छलफल गर्ने कार्यसूची रहेको छ ।
यस्तै, मुलुकको समग्र आर्थिक प्रणालीमा राजस्व सङ्कलनको अवस्था र भन्सार कार्यालयहरूले ब्यहोर्नु परेका नीतिगत एवं व्यवहारिक समस्या र समाधानका उपाय सम्बन्धमा छलफल हुनेछ ।
बिहान ११ बजे बस्ने शिक्षा समितिको बैठकमा विद्यालय शिक्षा विधेयक, २०८० का सम्बन्धमा विज्ञहरूसँग छलफल गर्ने कार्यक्रम छ ।
यसैगरी, राज्य व्यवस्था तथा सुशासन समितिको बैठक दिउँसो २ बजे कानून समितिको सभाकक्ष सिंहदरबारमा बस्दैछ । बैठकमा सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक उपर संशोधन प्रस्तावकर्ता सदस्यहरूसँग छलफल गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।