
दक्षिण कोरियाली कार्यवाहक राष्ट्रपति हान डक सोविरुद्ध महाभियोग प्रस्तावमाथि तत्कालका लागि विचार नगर्ने बताएका छन्।
दक्षिण कोरियाको प्रमुख प्रतिपक्षी दलका नेता तथा डेमोक्र्याटिक पार्टीका ली जे- म्युङले आइतबार आयोजित पत्रकार सम्मेलनमा आफ्नो पार्टीले देशको कार्यवाहक राष्ट्रपति हान डक सोविरुद्ध महाभियोग प्रस्ताव लगाउने तत्कालका लागि कुनै सोच नभएको बताउनुभएको छ ।
लीले शनिबार फोन मार्फत् दिएको जानकारीमा राज्य मामिलालाई तटस्थ रूपमा व्यवस्थापन गर्नुपर्नेमा जोड दिनुभएको थियो ।
राष्ट्रपति युन सुक योललाई शनिबार राष्ट्रिय सभाले महाभियोग लगाउने पक्षमा मतदान गरेपछि उहाँलाई राष्ट्रपतिको जिम्मेवारीबाट निलम्बित गरिएको छ ।
राष्ट्रपति विरूद्धको महाभियोग प्रस्ताव संसदबाट पारित भएसँगै सोलको सडकमा शनिबार युनको पक्ष र विपक्षमा हजारौंको सङ्ख्यामा र्याली निकालिएको थियो । मतदानपछि टेलिभिजनमा सम्बोधन गर्दै महाभियोग लागेका युनले आफू ‘पदबाट हट्ने’ तर सैनिक शासन लागू गर्ने असफल प्रयासका लागि माफी नमागेको बताउनुभएको छ ।
कूल ३०० संसद् सदस्य रहेको कोरियाली संसद्मा २०४ सांसदले विद्रोहको आरोपमा राष्ट्रपतिविरुद्ध महाभियोग लगाउने पक्षमा मतदान गरेका छन् भने ८५ जनाले विपक्षमा मतदान गरेका छन् ।
मतदानमा तीन सांसद अनुपस्थित रहेका धर आठ मत बदर भएको छ ।