धादिङ, पुस १६ :

नेपालका गुरूङ समुदायको राष्ट्रिय पोसाक फोटो प्रतियोगिता ‘गुरूङ ड्रेस फोटो कन्टेस्ट- २०८१’ को ‘टाइटल’ स्याङ्जाका चन्द्र गुरूङले जित्नुभएको छ ।

देश- विदेशबाट प्रतियोगितामा सहभागी तीन सय ४२ वटा फोटोलाई पछि पार्दै चन्द्र गुरूङको फोटोले टाइटल जितेको हो । 

प्रतियोगितामा चितवनकी अङ्किता गुरूङ ‘फस्ट रनरप’, लमजुङका अनिल गुरूङ ‘सेकेन्ड रनअप’ र धादिङकी प्रतिभा गुरूङको फोटोले ‘थर्ड रनरप’को उपाधि पाएको छ ।

सामाजिक सञ्जाल ‘फेसबुक’मा आएका ‘लाइक’, ‘कमेन्ट’, ‘शेयर’ र बान्की पूरा गरेर गुरूङ पोसाक लगाएका आधारमा विजेता घोषणा गरिएको आयोजक संस्था नेपाल तमु ‘गुरूङ’ विद्यार्थी छोंज धीं धादिङका अध्यक्ष एवं प्रतियोगिताका संयोजक रेखबहादुर गुरूङले जानकारी दिनुभयो ।

गुरूङ समुदायको कला, संस्कृति र वेशभूषा संरक्षणमा योगदान पुर्‍याउने उद्देश्यले आयोजना गरिएको प्रतियोगिताले देश- विदेशमा गुरूङ वेशभूषाको प्रचार भएको र त्यसले सिङ्गो देशकै पहिचान बढाएको महसुस गरेको संयोजक गुरूङलेबताउनुभयो

तमु ल्होसारका अवसर पारेर प्रतियोगितामा उत्कृष्ट छनोट भएका फोटोलाई नगदसहित ट्रफी, प्रमाणपत्र र विभिन्न उपहार प्रदान गरिएको छ । 

प्रतियोगिताको उत्कृष्ट १० मा परेका फोटोहरूलाई पनि गुरूङ पोसाकसहित प्रमाणपत्र र उपहार प्रदान गरिएको छ । कार्यक्रमकै अवसरमा ‘फोटो कन्टेस्ट’ सफल पार्न सहयोग गर्ने दाताहरूलाई सम्मान गरिएको थियो ।

‘कला संस्कृति वेशभूषा गुरूङ जातिको पहिचान, यसको संरक्षण र संवर्द्धन हाम्रो अभियान’ भन्ने नारासहित तीन महिना फोटो पोस्ट गर्ने समय तोकिएको थियो ।