काभ्रेपलाञ्चोक, पुस १७ :

गत असोज दोस्रो साताको बाढीपहिरोबाट प्रभावित एक हजार दुई सय ३० पीडित परिवारलाई संयुक्त राष्ट्रसङ्घीय विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) ले राहत रकम प्रदान गरेको छ । 

डब्लुएफपीको नेपालस्थित कार्यालयमार्फत उक्त राहत रकम प्रभावित परिवारलाई प्राप्त भएको रोशी गाउँपालिका कार्यालयले जनाएको छ ।
 
बाढीपहिरोमा परी गाउँपालिकामा १२ जनाको ज्यान गएको थियो भने चार सय ८२ घर पूर्ण रूपमा तथा आठ सय ८३ घर आंशिक रूपमा क्षति पुगेको थियो । 

डब्लुएफपीले पीडित परिवार सङ्ख्याका आधारमा राहत स्वरुप नगद नै सम्बन्धित लाभग्राहीको बैङ्क खातामा पठाएको गाउँपालिकाका अध्यक्ष दिनेश लामाले जानकारी दिनुभयो । 

उहाँले सबै पीडितको बैङ्क खातामा रकम जम्मा भइसकेको र कुनै समस्या आए गाउँपालिकामा तत्काल सम्पर्क गर्न अपिल गर्नुभएको छ ।
 
डब्लुएफपीले नेपाल सरकारको बाढीपहिरोपीडितलाई परिवार सङ्ख्याका आधारमा दिने नीतिअनुसार १५ हजार तथा २० हजार नगद राहत प्रदान गरेको जनाइएको छ । 

अध्यक्ष लामाका अनुसार यसअघि गाउँपालिकामा सीआरएस (क्याथोलिक राहत सेवा) मार्फत एक सय आठ पीडितपरिवारलाई उक्त परिमाणमा राहत रकम प्रदान भएको थियो ।

बाढीपहिरोले उक्त गाउँपालिकाको दुई हजार पाँच सय ४४ परिवारको खेतबारीमा क्षति पुगेको थियो भने एक सय ६० खानेपानी आयोजना, एक पक्की पुल, ४७ विद्यालय, चार स्वास्थ्य केन्द्रमा क्षति पुगेको थियो । यस्तै बाढीपहिरोले निर्माण सम्पन्न भएको डम्फु पार्क, १० शय्याको अस्पताल, चिस्यान केन्द्रसहितको औद्योगिक ग्राम बगाएको थियो ।

यसैबीच गाउँपालिकाले घर पूर्ण रूपमा क्षति भएका परिवारका लागि अस्थायी आवास निर्माण थालेको छ । चिसो बढ्दै गएपछि बाढीपहिरोपीडित अझ प्रभावित हुने भएपछि पहिलो चरणमा घर पूर्ण रूपमा क्षति भएका परिवारका लागि अस्थायी आवास निर्माण थालिएको गाउँपालिकाले जनाएको हो ।

लामाका अनुसार विभिन्न दाता संस्थाको सहयोगमा वडा नं २ बाट अस्थायी आवास निर्माणको काम सुरु गरिएको तथा वडा नं ९ को नार्के आसपासको क्षेत्रमा हालसम्म ५० वटा निर्माण भइसकेको बताउनुभयो ।