
नेपाली चलचित्र ‘एक्टर: टेक वन’ को गीत ‘के भरोसा गरम’ सार्वजनिक भएको छ । गीतको भिडियोमा प्रदीप खड्कालाई दुई नायिका आना शर्मा र दिव्या रायमाझीसँग प्रेममा रहेको देखाइएको छ । गीतमा त्रिकोणात्मक प्रेमकथा दर्शाइएको छ । तर, चलचित्रको टिजरमा भने अभिनेताद्वय प्रदीप खड्का र राजबल्लभ कोइराला देखिएका थिए ।
गीतमा हर्कुलस बस्नेत र इन्दिरा जोशीले आवाज दिएका छन् । उर्मिला गुरुङको शब्द र हर्कुलस बस्नेतको संगीतले गीतलाई झन् सशक्त बनाएको छ । गीतमा किरण थापाले कोरियोग्राफी गरेका छन् । कलर ग्रेडिङ राजेन्द्र मोक्तानको छ ।
माघ १६ गते रिलिज डेट तोकिएको चलचित्रको निर्देशन राजन भुसालले गरेका हुन् । स्क्रिप्ट आकाश बराल र राजन भुसालको सहकार्यमा तयार गरिएको छ । चलचित्रमा प्रदीप, आना, र दिव्याका साथै राजबल्लभ कोइराला, दिव्य देव, उषा रजक, सिर्जना अधिकारी र सुशील सिटौलालगायत कलाकारहरूको प्रमुख भूमिका छ ।
‘एक्टर: टेक वन’ अधृत फिल्म्स् र अ मोती फिल्मको संयुक्त प्रस्तुति हो । यसका निर्माता थमनकुमार भण्डारी, क्रियटिभ निर्माता मोती कार्की र सह-निर्माता अनिश भुसाल रहेका छन् । सार्वजनिक गीत ‘के भरोसा गरम’ ले दर्शकलाई चलचित्रप्रति अझ नजिक ल्याउने विश्वास गरिएको छ ।