काठमाडौं, पुस २२ :

इरानसँगको सीमानजिक रहेको पाकिस्तानको बलुचिस्तान जिल्लामा एउटा बसमा भएको आत्मघाती आक्रमणमा चार जनाको मृत्यु भएको छ । आक्रमणमा २५ जनाभन्दा धेरैजना घाइते भएको बीबीसीले समाचारमा जनाएको छ ।

बीबीसी उर्दुका अनुसार बलुचिस्तान सरकारका प्रवक्ता साहिद रान्डले आक्रमणको पुष्टि गर्दै क्राइम विंगका एसएसपी जोहाइब मोहसिन पनि आक्रमणमा घाइते भएको जनाए ।

केच जिल्लाका एक प्रहरी अधिकारीले बीबीसी उर्दुलाई भने कि मारिनेमा सुरक्षा बलहरू पनि थिए । आक्रमणमा २५ जना घाइते भएका छन् ।

प्रहरी अधिकारीले यो आत्मघाती हमला भएको बताएका छन् ।

यसैबीच, बलुच लिबरेसन आर्मी (बीएलए) ले पत्रकारहरूलाई पठाएको सन्देशमा यस आत्मघाती हमलाको जिम्मेवारी लिएको छ ।

बीएलएले पाकिस्तानी सेनाको काफिलेलाई निशाना बनाएको दाबी गरेको छ । यद्यपि पाकिस्तानी सेनाले यस सम्बन्धमा अहिलेसम्म कुनै वक्तव्य जारी गरेको छैन ।

तुर्बतका एक प्रहरी अधिकारीले बीबीसी उर्दूलाई भने कि विस्फोट तुर्बत सहरबाट ८ किलोमिटर टाढा बाहमान क्षेत्रमा भएको थियो ।

पाकिस्तानका केन्द्रीय गृहमन्त्री मोहसिन नक्वीले हमलाको निन्दा गरेका छन् ।